काठमाडौँमाथि फराकिलो जित निकाल्दै लुम्बिनी क्वालिफायरमा

बुधबार काठमाडौँ नाइट्सलाई १०२ रनले पराजित गर्दै लुम्बिनीले क्वालिफायरमा स्थान पक्का गरेको छ। 

तस्वीर : क्यान

काठमाडौँ– लुम्बिनी अल स्टार्स नेपाल टी२० लिगको क्वालिफायर प्रवेश गरेको छ। बुधबार काठमाडौँ नाइट्सलाई १०२ रनले पराजित गर्दै लुम्बिनीले क्वालिफायरमा स्थान पक्का गरेको हो।  

त्रिवि क्रिकेट मैदानमा जितका लागि १८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५‍.४ ओभरमा ८१ रनमा अलआउट भयो। काठमाडौँका बसिर अहमद सर्वाधिक २२ रनमा रन आउट भए। कमलसिंह ऐरीले १६, कप्तान ज्ञानेन्द्र मल्ल १५ र लोकेश बमले १५ रन बनाए। काठमाडौँका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका ह्यारी टेक्टर, कुशल भुर्तेल र ईशान पाण्डेले समान २/२ विकेट लिए। किशोर महतो, विपुल शर्मा हरमीत सिंहका नाममा १/१ विकेट रह्यो। टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनायो। काठमाडौँ ढिलो आएपछि खेल १७ ओभरमा झारिएको थियो। लुम्बिनीका ओपनर हरमीतले सर्वाधिक ७० रन बनाए। 

लगातार दोस्रो अर्धशतक बनाउने क्रममा उनले २ चौका र ८ छक्का प्रहार गरे। लाहिरु मिलान्था २६, गुलशन झा २१, कुशल भुर्तेल १५ र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। काठमाडौँका अभिनाश बोहराले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए।

बसिर अहमदले २ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए। अनिल खरेलले एक विकेट लिए। लुम्बिनी नौ खेलमा १६ अंकसहित शीर्षस्थानमा छ। एक खेल कम खेलेको काठमाडौँको ८ अंक छ।