जेनजी आन्दोलन: काठमाडौँमा गोली लागेर १४ जनाको मृत्यु

अस्पतालमा पुर्‍याइएका अन्य घाइतेहरूको अवस्था पनि चिन्ताजनक रहेको र उनीहरूको तत्काल शल्यक्रियाको तयारी भइरहेको सम्बन्धित अस्पतालहरूले बताएका छन्।

काठमाडौँ– भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको 'जेनजी आन्दोलन'का क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर १४ जनाको मृत्यु भएको छ। काठमाडौँका विभिन्न चार अस्पतालमा उपचारका लागि पुर्‍याइएकामध्ये उनीहरूको मृत्यु भएको हो।

विभिन्न अस्पतालबाट प्राप्त जानकारी अनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पताल र केएमसी अस्पतालमा एक-एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. दिपेन्द्र पाण्डेले ६ जनाको मृत्यु भएको र २९ जना घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको जानकारी दिए।

त्यसैगरी, एभरेस्ट अस्पतालका प्रशासन प्रमुख अनिल अधिकारी र सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले पनि आ-आफ्नो अस्पतालमा ३-३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। 

केएमसी अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले पनि एक जनाको मृत्यु भएको र अरू दुई जनाको अवस्था चिन्ताजनक रहेको बताए।

त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा पनि एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. सुवास आचार्यले घाइते १३ जनाको उपचार जारी रहेको बताए।

अस्पतालमा पुर्‍याइएका अन्य घाइतेहरूको अवस्था पनि चिन्ताजनक रहेको र उनीहरूको तत्काल शल्यक्रियाको तयारी भइरहेको बताइएको छ।