रुसी लडाकु विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

विमान अवतरणका क्रममा एउटा इन्जिनमा आगो लागेपछि दुई जना पाइलटले हाम फालेर ज्यान जोगाएका थिए।

तस्वीर: रोयटर्स

रुसी लडाकु विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्। सु ३४ कलसाइनको रुसी लडाकु बमर विमान सोमबार साँझ रुसको दक्षिणी येस्क शहरस्थित नौतले अपार्टमेन्टमा ठोक्किएको हो।

परीक्षणमा रहेको सो विमान अपार्टमेन्टमा ठोक्किनुअघि नै विमानका दुई पाइलटले हाम फालेर ज्यान जोगाएका थिए।

विमान अवतरणका क्रममा एउटा इन्जिनमा आगो लागेपछि विमानबाट हाम फालेको ती पाइलटहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। विमान दुर्घटनापछि सो अपार्टमेन्टका दुईवटा ब्लकमा आगलागी भएको थियो।

घटनास्थलबाट ६८ जनाको सकुशल उद्धार भएको छ भने उद्धार कार्य जारी रहेको रूसी आपत्कालीन मन्त्रालयले जनाएको छ। दुर्घटनास्थल युक्रेनको युद्धग्रस्त पूर्वीक्षेत्र नजिकै पर्छ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले विमान दुर्घटनापछिको आगलागीबाट प्रभावितलाई आवश्यक पर्ने सबै सहयोग गर्न राष्ट्रिय र क्षेत्रीय अधिकारीहरूलाई निर्देशन दिएको छ।

रुसको अनुसन्धनात्मक कमिटीले विमान दुर्घटनाको अनुसन्धान गर्न टोलीलाई घटनास्थलमा पठाइसकेको जनाएको छ।