जेनजी आन्दोलन: काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु*

‘जेनजी’ आन्दोलनका क्रममा गोली लागेर काठमाडौँ उपत्यका र इटहरीमा गरी १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

काठमाडौँ– भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको ‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तीमा १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ। काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएकामध्ये १७ जनाको र सुनसरीको इटहरीमा गोली लागेका दुई जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो।

विभिन्न अस्पतालबाट प्राप्त जानकारीअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना गरी कुल १९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले आफ्नो अस्पतालमा आठ जनाको मृत्यु भएको जानकारी दिँदै उपचाररत अन्य केहीको अवस्था गम्भीर रहेको र शल्यक्रियाको तयारी भइरहेको बताए। 

त्यसैगरी, एभरेस्ट अस्पतालका प्रमुख अनिल अधिकारी, केएमसी अस्पतालका प्रमुख नारायणप्रसाद दाहाल, सिभिल अस्पतालका निर्देशक मोहन रेग्मी, बीपी र शिक्षण अस्पतालका अधिकारीहरूले पनि आ-आफ्नो अस्पतालमा भएको मृत्युको संख्या पुष्टि गरेका छन्।

आन्दोलनका क्रममा घाइते भएका १०० भन्दा बढी प्रदर्शनकारीहरूको हाल सिभिल, वीर, ट्रमा सेन्टर, एभरेस्ट, पाटन, केएमसी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ। थुप्रै घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ। *ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएकोमा अन्यथा पर्न गएकोले सच्याइएको छ।