ललितपुरमा मन्त्रीनिवास र एमाले तथा कांग्रेस कार्यालय क्षेत्रमा निषेधाज्ञा जारी

ललितपुरमा एमाले र कांग्रेसका पार्टी कार्यालय रहेका क्षेत्र, भैँसेपाटीस्थित नयाँ मन्त्रीनिवास र न्यायाधीशहरूको निवास रहेको पुल्चोक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न तीन स्थानमा निषेधाज्ञा जारी गरेको छ। स्थानीय प्रशासनले भैँसेपाटी, च्यासल, सानेपा र पुल्चोक क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जारी गरेको विज्ञप्तिमा हिंसात्मक गतिविधि र हुलदंगा हुनसक्ने भन्दै जिल्ला सुरक्षाा समितिको सिफारिसमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ। निषेधाज्ञा सोमबार साँझ ६ बजेदेखि नै लागू हुने जनाइएको छ।

जिल्ला प्रशासनको विज्ञप्तिअनुसार च्यासलस्थित एमालेको केन्द्रीय कार्यालय पर्ने क्षेत्रमा पूर्व मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिम च्यासल रंगशाला, उत्तर मनोहरा खोला र दक्षिण मलपोखरी जाने बाटोमा निषेधाज्ञा जारी गरिएको छ। त्यस्तै, कांग्रेस केन्द्रीय कार्यालय रहेको सानेपामा पूर्व सानेपा चोक–ईन्द्रायणी मन्दिर सडक, पश्चिम बल्खु पुल–मनमोहन पार्क बागमती करिडोर, उत्तर चक्रपथको सर्भिस लेन, दक्षिण इन्द्रायणी मन्दिर–बागमती करिडोर सडकसम्म निषेधाज्ञा छ।

नयाँ मन्त्रीनिवास रहेको भैँसेपाटीस्थित पूर्व भैँसेपाटी–बुंगमती सडक, पश्चिम सिजी हाउजिङ, उत्तर भैँसेपाटी आवास गेट, दक्षिण इटनी जाने बाटोसम्म निषेधाज्ञा छ। यता, पुल्चोकस्थित यूएन हाउस र न्यायाधीश निवास वरिपरि २०० मिटर क्षेत्र मा पनि निषेधाज्ञा छ। त्यहाँ पूर्व इनारमोड जाने बाटोदेखि पश्चिम निजामती राष्ट्रिय किताबखाना, उत्तर आन्तरिक राजस्व कार्यालय, दक्षिण मानव अधिकार आयोगसम्म निषेधाज्ञा जारी गरिएको छ।