इन्द्रजात्रा पूजामा मात्रै सीमित हुने

मंगलबार र बुधबारको जात्रा विधिवत् पूजामामात्र सीमित हुने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।

काठमाडौँ– इन्द्रजात्रा सकिन तीन दिन मात्रै बाँकी छ। जात्राअन्तर्गत मंगलबार र बुधबार विधिवत् पूजा मात्र हुने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए। 

भदौ २१ गते शुरू भएको जात्राको अन्तिम दिन भदौ २६ गते (नानीचाया) मा रथयात्रा गर्ने किन नगर्ने भन्ने निर्णय हुन बाँकी रहेको उनको भनाइ छ। सम्बन्धित गुठी संस्थानसँग कुराकानी भए पनि त्यहाँबाट स्पष्ट जवाफ नआएको स्थितिमा समितिले भने जात्रालाई पूजा विधिमा मात्र राख्ने निर्णय गरेको उनले बताए। 

“जात्राको समय पर्व, उत्सव र उल्लासको समय हो। तर अहिलेको विषम परिस्थितिमा हामी पनि स्तब्ध र निराश छौँ,” अध्यक्ष गौतमरत्नले भने, “ठाँउठाँउमा भोज र पूजाको लागि निमन्त्रणा हुने थियो। लाखे, पुलुकिसीलगायत नाचझलक हुने थियो। हामीले यो सबैलाई घरघरबाट गरिने पूजामा सीमित गरेका छौँ।”

भ्रष्टाचारविरुद्धको आन्दोलन र युवाको मृत्युले शोकाकुल रहेको अवस्थामा जात्रालाई विधिवत् रूपमा मात्र सीमित राखिने अभियन्ता गणपति लाल श्रेष्ठले बताए।