आफ्नो मान्छेको खबर जब प्रहरी र अस्पतालले दियो

बिहानै हिँडेका दाइ साँझसम्म पनि घर नफर्केपछि फोन गर्दा प्रहरीले उठाउँदै भन्यो,– 'घाइते भएका २५–२६ जनालाई एकैपटक अस्पताल ल्याएको छ। तपाईं बिरामीलाई हेर्न आउनुहोला।'

काठमाडौँ– मंगलबार बिहान ९ बजे, काठमाडाैँको सिनामंगल क्षेत्रमा चोकचोकमा जलाइएका टायरको धुँवासँगै विरोध शुरू भइसकेको थियो।

बाहिर कालो धुँवा र आगो रापिलो हुँदै गर्दा केएमसी अस्पतालका हरेक वार्ड र तलामा आर्तनार्द छाएको थियो। घाइतेका परिवार पीडा र आक्रोशमा थिए। आईसीयू वार्डमा गणेश घिमिरे आफ्ना बुबालाई बल, ढाडस दिँदै परामर्श कक्षमा लैजाँदै थिए। प्रहरीको गोली लागेर घाइते भएका आफ्ना दाइ कमल घिमिरे (२७)लाई उपचारका लागि अस्पतालमा लिएर आएका उनी बुवालाई पनि सम्झाइरहेका थिए, “नआत्तिनुस् दाइलाई सञ्चो भइहाल्छ।”

आधा घण्टाअघि उनीसँगको कुरामा डाक्टरले बिरामीको अवस्था सुधार हुँदै गरेको बताएका थिए। अब उनी आफै डराएका छन्, भावविह्वल छन्।

घाइते घिमिरे भक्तपुरमा गाई फार्म सञ्चालन गरिरहेका थिए। सोमबार बिहानै बजारमा दुध बेचेर त्यतिबेला घर फर्किए पनि फेरि उनी घरबाट कतिबेला निस्किए भन्ने परिवारमा कसैलाई जानकारी थिएन। साँझ ४ बजेसम्म पनि घर नफर्किएपछि परिवारका सदस्य आत्तिए।

साँझसम्म पनि दाइ घर नफर्केपछि फोन गर्दा उनको फोन प्रहरीले उठायो। आवाज आयो, “आन्दोलनमा आएका कारण गोली लागेर घाइते भएका २५–२६ जनालाई एकैपटक अस्पताल ल्याएको छ। तपाईं बिरामीलाई हेर्न आउनु होला”

यसरी प्रहरीले दिएको अप्रत्यासित जवाफ सुनेर एकछिन रन्थनिए गणेश।

“दाइ यसअघि कहिल्यै पनि आन्दोलनमा निस्किनु भएको थिएन। हिजो जान्छु भनेर खबर गर्नु भएको पनि थिएन,” उनले भने, “उहाँको छातीमा गोली लागेको छ।”

आईसीयूबाट उनलाई भेन्टिलेटरमा सारिएको थियो। डाक्टरले परिवारका अन्य सदस्यलाई भेटेर बिरामीको अवस्था सुधार नहुने र माया मार्न भने। डाक्टरको यो कुराले गणेशको आँखाबाट बर्रर्र आँशु झर्‍यो।

null

यस्तै, काठमाडौँको बुढानीलकण्ठ बस्ने पवन बुढाथोकीलाई सोमबार दिउँसो १ बजेतिर फोन आयो। त्यतिबेला बानेश्वर क्षेत्रमा आन्दोलन चर्किरहेको थियो।

केएमसी अस्पतालकै अर्थोपेडिक वार्डबाट आएको फोनले उनलाई बेचैन बनायो। फोनमा उनको सालोभाइ सुरेन्द्र बम थापालाई केएमसी अस्पताल ल्याइएको जानकारी गराइयो। त्यसपछि उनी तत्कालन अस्पताल पुगे।

सुरेन्द्र अचेत अवस्थामै लर्बराइ रहेका थिए। कुराकानी गर्ने प्रयास गर्दा सुरेन्द्रले भनेको कुरा उद्धृत गर्दै पवनले भने, “प्रहरीले हामीलाई अन्धाधुल गोली होनेको थियो, राक्षस रूप रहेछन्।”

नाताले भिनाजु पर्ने पवन बुढाथोकीका अनुसार, सुरेन्द्रको देब्रे कुइना र खुट्टामा दुई वटा गोली लागेको छ। उनी हाल अप्रेसन थिएटरमा छन्। “भाइ पुगेको १० मिनेटमा गोली लागेको रहेछ। उसले भिडियो खिच्दै गर्दा गोली लाग्दा मोबाइल पनि बेपत्ता भयो,” उनले भने, “अस्पतालमा ल्याउँदासम्म भाइलाई होस रहेछ अनि उसको दिदी (मेरो श्रीमती)लाई फोन गरेपछि बल्ल हामीले थाहा पायौँ।”

सोही वार्डमा राखिएका विजेश तामाङ्ग (३०)लाई पनि दुई ठाउँमा गोली लागेको छ। विजेशका दाइ नवीनका अनुसार सोमबार दिउँसो ३ बजेतिर बानेश्वर क्षेत्रमा उनलाई प्रहरीको गोली लागेको थियो। कलेजमा पढ्ने एक छात्रालाई बचाउने क्रममा आफ्नो भाइलाई प्रहरीको गोली लागेको दाइ नवीनले बताए।

“घुँडाको माथिल्लो भागको गोली भाइले आफैले निकालेको रहेछ, भिडमा कलेजको छात्रालाई बचाउन खोज्दा गोली लाग्यो भनेको छ,” दाइ नवीन तामाङ्गले उकालोसँग कुरा गर्दै भने, “अन्धाधुन्ध छाती, टाउको जताततै गोली हानेको यस्तो पनि हुन्छ।”

सिन्धुपाल्चोक घर भएका उनीहरू काठमाडौँस्थित नयाँ बसपार्कमा बस्दै आएका छन्। यद्यपि, अस्पतालमा देखिएका अन्य बिरामीको तुलनामा आफ्नो भाइको अवस्था सामान्य लागेको उनले बताए।