प्रदर्शनकारीले 'आगो लगाउँछाैं' भनेपछि केन्द्रीय कारागारबाट भागेका थिए ३ हजारभन्दा धेरै कैदी

केन्द्रीय कारागारमा झडप भइरहेका बेला नख्खु कारागारबाट आएका प्रदर्शनकारीले कारागारमा आगो लगाइदिने भनेपछि त्यहाँका कैदीबन्दी निस्किएका कारागार प्रशासनले जनाएको छ।

केन्द्रीय कारागार/फाइल तस्वीर

काठमाडौँ– केन्द्रीय कारागार सुन्धाराबाट तीन हजारभन्दा धेरै कैदीबन्दी भागेका छन्। कारागार प्रशासनका अनुसार मंगलबार राति ११ बजे कैदीबन्दीबीच आफूहरू निस्किनुपर्ने माग राख्दै भएको झडपपछि उनीहरू भागेका हुन्।

केन्द्रीय कारागारमा झडप भइरहेका बेला नख्खु कारागारबाट आएका प्रदर्शनकारीले कारागारमा आगो लगाइदिने भनेका थिए। त्यसपछि तीन हजार कैदीबन्दी निस्किएका कारागार प्रशासनले जनाएको छ।

कारागारका एक कर्मचारी भन्छन्, “नख्खुबाट आएको समूहले आगो लगाउँ कि बाहिर निस्किन्छाै भनेपछि केन्द्रीय कारागारका सबै कैदीबन्दी निस्किएका हुन्।” 

कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रशाद शर्माले पनि कैदीबन्दी फरार रहेको स्वीकारे। यद्यपि, उनले यकिन तथ्यांक भन्न नसकिने बताए।

“यकिन तथ्यांक भन्न सकिँदैन तर तीन हजारभन्दा बढी कैदीबन्दी बाहिरिएको बुझेको छु। कारागारमा अहिले पाँच सय जना हुनुहुन्छ। अरुको खोजी कार्य भइरहेको छ,” उनले भने।

केन्द्रीय कारागार अन्तर्गतको  भद्र बन्दी गृहमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका एमालेका नेता टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेहरूसमेत बाहिरिएका कारागार स्रोतले जनाएको छ। कारागार प्रशासनका अनुसार महिला गृह बन्दीका १०० जना कैदीबन्दी कारागार फर्किएका छन्।

केन्द्रीय कारागार देशकै सबभन्दा ठूलो कारागार हो। यहाँ तीन हजार ७०० भन्दा बढी कैदीबन्दी थिए।