रवि लामिछानेलाई नक्खु कारागारबाट मंगलबार नै छाडिएको थाहा पाएपछि डिल्लीबजार कारागारका केही कैदीबन्दीले बुधबार बिहानदेखि आन्दोलन थालेका थिए। त्यसपछि झडपको अवस्था बनेको थियो।
काठमाडौँ– “बाहिर जान चाहने र नचाहनेबीच भित्र विवाद भयो र झडप नै भयो,” डिल्लीबजार कारागारबाट बाहिर आएका एक कैदीले भने, “रवि लामिछानेले कानून मानेर, प्रकृया मिलाएर निस्कनुपर्थ्यो, कानून मिचेर निस्किनु भयो। हामी त अहिले पनि कानून मान्न तयार छौँ। कानून बमोजिम कागज गरेर राज्यले छोडदिनुपर्यो।”
डिल्लीबजार कारागारका कैदीबन्दीबीच नै निस्कने कि ननिस्कने विषयमा विवाद भएर झडप भएको उनको भनाइ थियो। उनी आफू चाहिँ बाहिर निस्कन पाउनुपर्ने पक्षका थिए। “राज्य व्यवस्थित भइसकेपछि फर्काउने शर्तमा हामीलाई छोडदिनु पर्यो। कि त राज्यले सबै व्यवस्थित गरिदिनुपर्यो हामी नियम कानून मानेर कुनै पनि सुुरक्षा दायरा नाघेर बाहिर जादैनौँ,” उनले भने।
कारागारबाट बाहिर निस्केका अर्का कैदीले भित्र आगो लागेर बस्नसक्ने स्थिति नै नभएको बताए। उनले भने, “त्यही भएर बाहिर निस्केको हो। अन्य कारागारका कैदीबन्दीलाई हिजो नै निस्कन दिइयो। त्यसैले हामीले पनि निस्कन पाउनुपर्छ भनेर आन्दोलन गरेका हौँ।”
डिल्लीबजार कारागारमा मंगलबारसम्म करिब ८०० कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ। ३०० हाराहारी कैदीबन्दी अझै कारागारभित्रै छन्। उनीहरूले देशको कानून मान्ने भन्दै आफुहरू नभाग्ने बताएका छन्। बाहिर जान नमान्नेमा डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका दीपक मनाङे पनि छन्।
त्यसअघि, बुधबार बिहान ६ बजेसम्म डिल्लीबजार कारागारको अवस्था शान्त नै थियो। प्रशासनले नक्खुमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार छाडेपछि डिल्लीबजारका कैदीबन्दीले पनि बुधबार बिहानदेखि आफूहरूलाई छाड्ने माग उठाउन थालेका थिए।
एक समूहले आफूहरूलाई पनि कारागारबाट बाहिर निकाल्नुपर्ने माग राख्यो। अर्को समूह भने देशको कानून मान्ने र बाहिर नजाने अडानमा थियो। केही बेरपछि दुई समूहबीच कारागारभित्रै झडप हुनपुग्यो। बाहिर निकाल्नुपर्ने माग राख्ने समूहले प्रदर्शन र तोडफोड थाल्दा स्थिति नियन्त्रणबाहिर जाने अवस्था भइसकेको थियो।
“दुई समूहबीच झडपको स्थिति बन्यो र नियन्त्रणमा लिन शुरूमा हामीले केही राउन्ड हवाई फायर ग¥यौँ,” कारागारका एक सुरक्षाकर्मीले भने, “त्यति हुँदा पनि प्रदर्शन, ढुंगामुढा र तोडफोड नियन्त्रणमा आउन सकेनन्।”
उनका अनुसार, बाहिर निकाल्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका कैदीबन्दीले आगजनी नै गरेपछि प्रहरीले हवाई फायर गरेको थियो। आगजनी भएपछि प्रहरीले सबै कैदीबन्दीलाई बाहिर निकालेको थियो। त्यसक्रममा घाइते भएका केही कैदीबन्दीलाई उपचारका लागि अस्पताल लगिएको छ।
केही कैदीबन्दीलाई प्रहरीले गाडीमा राखेर अन्यत्र स्थानान्तरण गरे पनि अन्यले जान मानेन। बाहिर निस्कन पाउनुपर्ने माग राख्दै कारागार परिसरमा भेला भएका कैदीबन्दीले तोडफोडका गतिविधि गर्दै प्रहरीविरूद्ध नाराबाजी गरेपछि सेना खटिएको थियो। तर कैदीबन्दीले मूलगेट तोडेर बाहिर निस्किए।
डिल्लीबजार कारागार प्रवेश गर्ने दुवैतर्फको क्षेत्र सेनाले रेकी गरेर राखेको छ। आफूहरूलाई छोड्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका कैदीबन्दी उग्ररूपमा प्रस्तुत भएपछि थप हवाई फायर भएको थियो। बुधबार दिउँसोसम्म पनि कारागार क्षेत्रमा कैदीबन्दी सडकमै छन्। उनीहरू अन्यत्र जान मानिरहेका छैनन् भने, सेनाले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
सडकमा आइपुगेका कैदीबन्दीमध्ये कतिपय भागेका सुरक्षाकर्मीहरू नै बताउँछन्। दुईजना हतकडीसहित भागेर स्थानीयको घरमा लुकेकालाई केहीबेरमै प्रहरीले नियन्त्रणमा लिएको थियो। स्थिति नियन्त्रणबाहिर जान नदिन डिल्लीबजार क्षेत्रमा नेपाली सेनाका दुई सहायक रथीकै कमान्डमा सेनाको टोली खटिएको छ।
“प्रहरीविरूद्ध नै कैदीबन्दी आक्रोशित भएपछि नियन्त्रणमा लिन हाम्रो टोली पुगेको हो,” त्यहाँ खटिएका सेनाका एक अधिकृतले भने, “उनीहरूलाई सम्झाइबुझाइ गराउने प्रयास गरिरहेका छौँ, तर उनीहरू मानिरहेको अवस्था छैन।”
सेनाले अहिले डिल्लीबजार कारागार क्षेत्रबाट बाहिर निस्केका कैदीबन्दीलाई घेरा हालेर राखेको छ। बख्तरबन्दसहितका गाडीले बाटो छेकिएको छ।
कैदीबन्दीले कारागारमा प्रदर्शन र तोडफोड थालेपछि उनीहरूका आफन्तको पनि भीड कारागारबाहिर लागेको थियो। परिवारका सदस्यसमेत आएपछि कैदीबन्दी थप उग्र बने। आगजनीले डिल्लीबजार कारागारमा कैदीबन्दीलाई राख्नसक्ने अवस्था छैन। त्यहाँका सवारी साधनसमेत क्षति पुगेको छ।
“रातिसम्म त यहाँका कैदीबन्दीलाई कहाँ राख्ने भन्ने निर्णय होला, तर अहिलेसम्म कुनै निर्णय नहुँदा समस्या हुँदै गएको छ,” सेनाका एक अधिकारी भन्छन्,“कि त गोली चलाएर अवस्था नियन्त्रणमा लिनपर्ने हुन सक्छ नभए समयमा नै स्थानान्तरण गरिएन भने थप जोखिम बढ्न सक्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
