प्रचण्ड गठबन्धन नतोड्ने प्रतिबद्धताबाट पछि हटे, निर्णय गर्ने समय पनि दिएनन् : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाए।

काठमाडौँ– नेपाली कांग्रेसले वर्तमान गठबन्धन पदीय चाहनामा मात्रै सीमित रहेको बताएको छ। बुधबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको बताए।

उनले वर्तमान गठबन्धनमा राजावादीदेखि संघीयता विरोधीसम्मको सहभागी भएकाले यसको आयु लामो नरहेको तर्क गरे। "यो गठबन्धनको सरकारको विरोधाभासपूर्ण अवस्था छ। त्यो बोझबाट नै यो गठबन्धनको आयु छोटिन सक्ने प्रशस्त सम्भावनाहरू छन्", उनले भने।

प्रवक्ता महतले कांग्रेसले गठबन्धन नटुटाएको र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाए। उनले दाहालले गठबन्धन तोडेपछि नेपाली कांग्रेस सन्तुष्ट नरहेको बताए। उनले कांग्रेसलाई नयाँ नेतृत्वको विकल्प माओवादी अध्यक्ष दाहाललाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको बताए।

"नेपाली कांग्रेसले नेतृत्व छोडेर नेतृत्व प्रचण्डजीलाई दिएर गठबन्धन बचाउनेबारे हामीले छलफल गरेर सोच्ने र निर्णयमा पुग्ने समय प्राप्त भएन। हामीले निर्वाचनमा जाँदा गठबन्धनलाई लामो समयसम्म लैजाने प्रतिबद्धता गरेका थियौँ। त्यो प्रतिबद्धताबाट हामी हटेका होइनौँ, प्रचण्डजी हट्नुभयो", उनले भने।

उनले वर्तमान गठबन्धन सरकारलाई अवसर केन्द्रित गठबन्धनको संज्ञा दिए। उनले अहिलेको गठबन्धनबाट आउने परिणामका बारेमा सचेत रहन पनि आग्रह गरे।

प्रवक्ता महतले वर्तमान गठबन्धनमा पदीय चाहनाबाहेक विचार, दृष्टिकोणमा एकता नरहेको आरोप लगाए। उनले अहिलेको सरकार काम गर्नेभन्दा देखाउने कुरामा मात्रै बढी अग्रसर रहेको आरोप लगाए।

प्रवक्ता महतले आगामी दिनमा कांग्रेस सशक्त प्रतिपक्षको रूपमा संसद्मा प्रस्तुत हुने प्रतिबद्धता जनाए। उनले कांग्रेस प्रतिपक्षमा रहुन्जेलसम्म सशक्त प्रतिपक्षको रूपमा विकास, रोजगारी, सुशासनका विषयलाई उजागर गर्ने बताए। आगामी दिनमा पार्टी संगठन बिस्तार, पार्टीमा एकता, व्यक्तिकेन्द्रित नभई विषय, लक्ष्य केन्द्रित भएर काम गर्नेमा लाग्ने पनि उनले बताए।

उनले पार्टी सभापति शेरबहादुर देउवाको विरोध गर्नेहरूले नै कांग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि कांग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने बताए। कांग्रेसले पुस २८ गते १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।