कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध

सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्।

गुल्मी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। 

गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध बनेको हो। प्रहरीचौकी पुर्तीघाटबाट सडक सुचारुका लागि प्रहरी टली खटिएको छ।

उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए। 

सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्। 

वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्स्ट्रक्सने पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताए। पहिरोका कारण उक्त सडक पटकपटक अवरुद्ध हुने गरेको छ।