यस्तो छ नेपालबारे विदेशी मिडियाको ‘कभरेज’

विदेशी सञ्चारमाध्यमहरूले भदौ २३ गतेदेखि नै नेपाललाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरिरहेका छन्। भारतदेखि युरोप र अमेरिकाका सञ्चारमाध्यममा लगातार नेपालसम्बन्धी समाचार प्रकाशित भइरहेका छन्।

काठमाडौँ– नेपालको जेनजी आन्दोलनबारे फ्रान्स २४ टेलिभिजनमा ८ मिनेट ४२ सेकेन्ड लामो रिपोर्ट छ। रिपोर्टमा विभिन्न राजनीतिक विज्ञलाई उधृत गरेर ‘स्वार्थ समूहहरूद्वारा आन्दोलन अपहरण गरिएको’ जनाइएको छ।

दुई दशकयताकै भीषण हिंसाले प्रधानमन्त्रीलाई पदच्युत गर्दै संसद् भवनमा आगो लगाएपछि सेनाले कर्फ्यु लगाएको र प्रदर्शनकारी नेताहरूसँग वार्ता शुरू गरेको पनि रिपोर्टमा भनिएको छ। समाचारमा ‘प्रदर्शनकारीहरू आपसमा विभाजित भएकाले स्वार्थ समूहहरूले खेल्न पाएको’ जनाइएको छ।

नेपालबारे धेरै विदेशी सञ्चारमाध्यमले चासोपूर्ण तरिकाले समाचार र समाचार सामग्री दिइरहेका छन्। बीबीसीले बुधबार नेपालमा दशकहरूपछिको सबैभन्दा खराब परिस्थितिमा सडकमा सेनाले गस्ती गरिरहेको समाचार प्रकाशन गरको छ।

नेपालमा भएको प्रदर्शन ‘हाइज्याक’ गरिएको जेनजीको दाबी, सडकमा सेनाको गस्ती’ शीर्षक समाचारमा भनिएको छ, “नेतृत्व गरिरहेको जेनजी समूहले आन्दोलन अवसरवादीले अपहरण गरेको र ध्वंशात्मक भएको भन्दै आफूहरूलाई प्रदर्शनबाट टाढा राखेका छन्।”

बीबीसीले नै बिहीबार ‘नेपालको अशान्तिले दक्षिण एशियामा भारतको समस्या थप्यो’ शीर्षकमा अर्को पनि समाचार प्रकाशन गरेको छ। भारतका छिमेकी देशमध्ये पछिल्ला वर्षहरूमा विद्रोहबाट सरकार फेरिएको नेपाल तेस्रो देश भएको उक्त समाचारमा उल्लेख छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह संकटको बेला मनपर्ने व्यक्तित्वको रूपमा देखा परेको उल्लेख गरेको छ। रोयटर्सले ‘मेयर बनेका नेपाली र्‍यापर संकटको बेला युवाको चाहनामा’ शीर्षक समाचार बनाएको छ। 

“पाका सांसदहरूको वर्चस्व रहेको नेपाली राजनीतिमा असाधारण रूपमा निर्वाचित युवा काठमाडौँका मेयर बालेन्द्र शाह अब बन्ने अन्तरिम सरकारका लागि युवाहरूको रोजाइमा परेका छन्,” रोयटर्सले लेखेको छ, “राजधानीका ३५ वर्षीय मेयर, एक पूर्व र्‍यापर जो प्रायः इन्स्टाग्राममा र सार्वजनिक रूपमा गाढा रङको ब्लेजर र कालो चस्मा लगाएर देखा पर्छन्।”

७३ वर्षीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको राजीनामापछि बालेन चर्चामा रहेको समाचारमा जिकिर छ। रोयटर्सले काठमाडौँको पछिल्ला घटनाक्रम पनि लेखेको छ।

बेलायती सञ्चारमाध्यम गार्डियनले ‘यो हाम्रो क्रान्ति हो, अब हाम्रो पालोः नेपालका ‘जेनजी जी’ प्रदर्शनकारीहरूले भ्रष्टाचारविरुद्ध बोले’ शीर्षकमा भिडियो सामग्री र फोटोहरू प्रस्तुत गरेको छ।

“सोमबार काठमाडौँमा युवा नेपालीहरूले सामूहिक विरोध प्रदर्शनको नेतृत्व गरे र त्यसको मूल्य गोली लागेर वा आफ्नो ज्यान जोगाएर चुकाउनु परेको छ। यी जेनजी भनिएका प्रदर्शनकारीहरू युवा नेपालीहरूको त्यो पुस्ता हुन्, जसले सरकारी भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालहरूमा प्रतिबन्धविरुद्ध ठूलो विरोध प्रदर्शनको नेतृत्व गरे र त्यसको मूल्यमा ज्यान दिए,” गार्डियनले उल्लेख गरेको छ, “सयौँ घाइते भए र कम्तीमा २२ जनाको मृत्यु भएको विश्वास गरिन्छ।”

अहिले उक्त आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ। मृत्यु हुनेमा तीनजना प्रहरी पनि छन्।

अलजजिरामा ‘अन्तरिम नेताको टुंगो लगाउन प्रदर्शनकारीहरूसँग वार्ता भइरहेको नेपाली सेनाको भनाइ’ शीर्षकमा अलजिजिराले पछिल्लो समाचार बनाएको छ। “प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई अपदस्थ गर्ने हिंसात्मक घटनापछि नेपालको सेनाले हिमाली राष्ट्रको लागि अन्तरिम नेता छनोट गर्न प्रदर्शनकारीहरूसँग वार्ता पुनः शुरू गरिरहेको सेनाका प्रवक्ताले बताएका छन्,” उक्त समाचारमा भनिएको छ, “दशकौँ यताकै सबैभन्दा घातक प्रदर्शनपछि बिहीबार दोस्रो दिन पनि राजधानी काठमाडौँका शान्त सडकहरूमा सैनिकहरूले गस्ती गरिरहेका थिए। यो प्रदर्शन यस हप्ता घातक विरोध प्रदर्शनपछि अधिकारीहरूले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि भएको थियो।”

अन्तर्राष्ट्रिय समाचार एजेन्सीले एपीले जेनजी आन्दोलनबाट शुरू भएको प्रदर्शनका क्रममा भएका आगजनीलाई फोटो स्टोरी बनाएको छ। “नेपालमा सामाजिक सञ्जालमा छोटो समयको लागि प्रतिबन्ध लगाइएपछि राजधानीमा हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन्, जसमा प्रदर्शनकारीहरूले सरकारी भवन र राजनीतिज्ञहरूका घरमा आगजनी गरेका छन्,” जल्दै गरेका भवनहरूको दर्जनभन्दा बढी तस्वीर राखेर एपीले लेखेको छ, “तस्वीरहरूमा देशको संसद् भवन, राष्ट्रपति भवन, प्रधानमन्त्री र प्रमुख मन्त्रालयहरूको कार्यालय रहेको केन्द्रीय सचिवालय र प्रधानमन्त्रीको आधिकारिक निवासबाट धुवाँ निस्किरहेको देखिन्छ। नेपालको सबैभन्दा ठूलो सञ्चारमाध्यम कान्तिपुर प्रकाशनको भवनमा पनि आगजनी र क्षति पुगेको छ।”

अमेरिकी सञ्चारमाध्यम द वालस्ट्रिट जर्नलले ‘हिंसात्मक प्रदर्शनपछि शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन’ शीर्षकमा भिडियो सामग्रीसहितको समाचार बनाएको छ। “नेपालमा हिंसात्मक प्रदर्शनले देशका प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि हिंसा र तोडफोड रोक्न सेनाले राष्ट्रव्यापी कर्फ्यु लगाउन सैन्यबल तैनाथ गरेको छ,” द वालस्ट्रिट जर्नलले लेखेको छ।

भारतको अंग्रेजी अखबार इण्डिया टाइम्सले सोमबारको प्रदर्शनयता उत्पन्न भएको असहज परिस्थितिलाई मुख्य विषय बनाएको छ। ‘पर्यटक अलपत्र, होटलहरूमा आगजनीः ओलीको राजीनामा र जेनजीको विरोधबीच आगजनी, लुटपाट र अराजकता बढेपछि नेपाली सेनाले हस्तक्षेप गर्‍यो’ शीर्षकमा उसले समाचार बनाएको छ। 

विदेशी सञ्चारमाध्यमले नेपालमा अहिले उत्पन्न भएको विषम परिस्थितिलाई प्राथमिकता दिएका छन्।

अन्तराष्ट्रिय संस्थाहरूको चासो
इन्टरनेशनल फेडेरेसन आफ जर्नलिस्ट (आईएफजे) को वेब पोर्टलमा जेनजीको प्रदर्शनको क्रममा पत्रकारहरू घाइते भएको विषयमा रिपोर्ट प्रकाशित छ। आन्दोलनमा भएका विभिन्न घटनालाई पनि उक्त रिपोर्टमा समेटिएको छ।

संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयले आफ्नो वेबसाइटमा गत सोमबार नै ‘घातक विरोध प्रदर्शनपछि नेपाललाई सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार’ शीर्षक दिएर प्रतिक्रिया सार्वजनिक गरेको छ। त्यसमा संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयकी प्रवक्ता रविना शामदासानीको प्रतिक्रिया पनि सामेल छ। उनले भनेकी छन्, “नेपालमा जीवन्त लोकतन्त्र र सक्रिय नागरिक स्थान छ र युवाहरूको चासोलाई सम्बोधन गर्ने उत्तम माध्यम संवाद हो।”