नख्खु कारागारबाट भागेका सञ्जय टकलासहित १८ कैदीबन्दी नियन्त्रणमा

जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ कैदीबन्दीलाई काभ्रेपलान्चोकको मंगलटारबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

सञ्जय टकला (साह)। फाइल तस्वीर

काभ्रेपलान्चोक– जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका १८ कैदीबन्दीलाई बिहीबार काभ्रेपलान्चोकको मंगलटारबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ जनालाई भाग्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरी टोलीले बीपी राजमार्गअन्तर्गत भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो। टकलाले जनकपुर बम काण्डमा दोषी ठहर, सञ्चार उद्यमीको हत्या र अकुत सम्पत्तिको मुद्दामा सजाय भुक्तान गरिरहेका थिए।

पक्राउ गरिएका सबैलाई आजै नख्खु कारागार नै पठाउने तयारी भइरहेको कुँवरले बताए। अन्य कारागारबाट फरार भई काभ्रेपलान्चोक हुँदै भाग्दै गरेकालाई अरनिको र बीपी राजमार्गमा विशेष निगरानी गरिरहेको जिल्लास्थित प्रहरीले जनाएको छ।

यसअघि बुधबार सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेको थिए। अन्य स्थानका कारागारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारागारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारागारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो।

२८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जनाइएको छ।

तनहुँ कारागारबाट भागेका २२ कैदीबन्दी नियन्त्रणमा
जिल्ला कारागार तनहुँबाट भागेका ३२७ मध्ये २२ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले उक्त  जानकारी दिए। कारागार प्रशासनले फरार भएका कैदीबन्दीका परिवार र आफन्तसँग सम्पर्क गरेर  सुरक्षित फिर्ताका लागि आग्रह गरेको छ।

“केहीका परिवारसँग समन्वय गरिरहेका छौँ। केही आफैँ पनि सम्पर्कमा आएका छन् भने केही गन्तव्यतर्फ गइरहेको अवस्थामा सवारीसाधनमा खोजी गरिरहेका छौँ, विषम परिस्थितिमा सचेतता अपनाउँदै दैनिकीलाई सहजता बनाउन आग्रह गरिरहेका पनि छौँ,” उनले भने। कारागार मर्मत भइरहेकोले आज बेलुकीसम्म नियन्त्रणमा लिइएका कैदीबन्दीलाई कारागारमा सार्ने उनले बताए। 

कारागार निमित्त प्रमुख पुष्प राउतले कारागारमा आफैँ सम्पर्कमा आएका कैदीबन्दीलाई पनि प्रहरी कार्यालयमा पठाइएको जानकारी दिए। “आवश्यक सम्पर्कका लागि परिवार र आफन्तले सिधा कारागार प्रशासनसँग सम्पर्क गर्न सक्नेछन्। हामी फरार भएका कैदीबन्दीको अवस्था बुझेर सुरक्षित फिर्ता सुनिश्चित गर्ने प्रयासमा लागिपरेका छौँ”, उनले भने।

राउतका अनुसार फरार कैदीबन्दीमध्ये २० जना महिला र बाँकी पुरुष छन्। मंगलबार दिउँसोदेखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगायतमा आगजनी र तोडफोड गर्दा कारागार परिसर पनि निशानामा परेको थियो। त्यसै क्रममा साँझ कैदीबन्दी भागेका हुन्।