उपरथी प्रेम शाहीलाई हिरासतमा लिएपछि सेनाले सैनिक मुख्यालयका तालिम प्रमुख उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति बनाएको छ। तर किन र के कारण छानबिन थालिएको भन्ने खुलाइएको छैन।
काठमाडौँ- नेपाली सेनाले हिरासतमा लिएका उपरथी प्रेम शाहीले प्रधानसेनापति वा रक्षामन्त्रीसँग भेट नदिएसम्म ‘भोक हड्ताल’मा बस्ने अडान लिएका छन्। शाहीलाई अहिले छाउनीस्थित सैनिक अस्पतालमा राखिएको छ।
बुधबार बिहान उनलाई छोरा र छोरीसँग भेट्न अनुमति दिइएको थियो। पारिवारिक स्रोतका अनुसार प्रधानसेनापतिलाई भेटेर कुरा गर्न नदिउन्जेल शाहीले भोक हड्तालमा बस्ने अडान लिएका हुन्।
उपरथी शाहीलाई सैनिक मुख्यालयले सोधपुछका लागि भन्दै मंगलबार हिरासतमा लिएको थियो। उमेर सम्बन्धी विवादमा सर्वोच्च अदालतले सोमबार शाहीको पक्षमा अन्तरिम आदेश दिएपछि उनी सर्वोच्चको पत्र लिएर मंगलबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए। त्यहीक्रममा उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो।
तर, शाहीले त्यहीँ नै ‘भोक हड्ताल’ शुरु गरेपछि उनलाई मंगलबार नै छाउनी अस्पताल लगिएको थियो।
शाहीको पक्षबाट मुद्दा लडेका वरिष्ठ अधिवक्ता शम्भु थापाले नियन्त्रणमा लिएपछि उनलाई छाउनीस्थित सैनिक अस्पतालमा राखिएको र परिवारबाहेक अरुलाई भेट्न नदिइएको बताए। थापाका अनुसार शाहीलाई किन हिरासतमा लिइएको हो भन्नेबारे जंगी अड्डाले अहिलेसम्म कुनै औपचारिक आरोप लगाएको छैन र ‘चार्जसीट’ पनि थमाएको छैन।
अहिलेसम्म शाहीलाई कुनै आरोप लगाईएको छैन। तर उनको सबै सेवा-सुविधा खोसिएको छ।
शाहीको जन्ममितिमा रहेको त्रुटि सच्याउन जंगी अड्डाले सिफारिस गरे पनि रक्षा मन्त्रालयले पुरानै जन्ममिति कायम गरिदिएको थियो। त्यही आधारमा उनले २०७९ पुस २० गते उमेरका आधारमा अवकाश पाउन लागेका थिए। तर, त्यसविरुद्ध सर्वोच्च अदालतमा उनले रिट दायर गरेका थिए।
उनको रिटमा १९औँ पटकको पेसीमा बल्ल सुनुवाइ भएको थियो। सर्वोच्चले शाहीलाई ‘नागरिकता प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको आधारभन्दा पहिला नै अवकाश दिँदा सुविधा सन्तुलनको दृष्टि र निज निवेदकलाई हुनसक्ने अपूरणीय क्षतिसमेतलाई मध्यनजर गरी उल्लिखित यस अदालतमा विचाराधीन रहेको निवेदनको अन्तिम निर्णय नहुञ्जेलसम्म निवृत्तिभरणमा अवकाश दिने निर्णय कार्यान्वयन नगराउनु र निवेदकलाई यथाअवस्थामा काम गर्न दिनू’ भनेर अन्तरिम आदेश जारी गरेको थियो।
वरिष्ठ अधिवक्ता थापाले पनि शाहीलाई उनी पढेको बुढानिलकण्ठ स्कूलले दिएको चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको त्रुटिपूर्ण जन्ममितिले समस्या भएको बताए। त्यसलाई सच्याउन जंगी अड्डा नै तयार भएको, तर रक्षा मन्त्रालयले त्रुटि नसच्याउँदा समस्या आएको बताए।
यसैबीच, नेपाली सेनाले उपरथी सागर थापालाई शाही र उनको परिवारबीच सम्पर्क सूत्रका रूपमा काम गर्न खटाएको छ। उपरथी थापा र शाही दुवैजना बुढानीलकण्ठ स्कूलका विद्यार्थी हुन्।
सेनाले सैनिक मुख्यालयका सैनिक तालिम प्रमुख उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति बनाएको छ। तर किन र के कारण छानबिन थालिएको भन्ने खुलाइएको छैन।
उपरथी श्रेष्ठ सिरहाको चौहर्वा बाहिनीपति भएको समयमा सिपाही भर्नामा अनियमितता गरेको आरोपमा ‘कोर्ट मार्शल’मा परेका थिए र उनको पदोन्नति रोक्का भएको थियो। साधारणत: सेनामा छानबिनमा परेका जर्नेलभन्दा कनिष्ठ अधिकारीको नेतृत्वमा छानबिन बोर्ड बनाउने चलन छैन। श्रेष्ठ उपरथी शाहीभन्दा कनिष्ठ अधिकृत हुन्।
एक पूर्व उच्च सैनिक अधिकारीले भने, “प्रेम शाहीको सन्दर्भमा प्रष्ट रूपमा प्रधानसेनापतिको पूर्वाग्रह र प्रतिशोधको भावनाले काम गरेको छ। यस्तो होला भनेर हामीले सोचेका पनि थिएनौँ र सोच्नु पर्ने अवस्था पनि थिएन।”
अवकाशप्राप्त अर्का एक उच्च सैनिक अधिकारीले थपे, “लोकतन्त्रमा सेनापतिको तजबिजी वा विशेष अधिकार भन्ने हुँदैन, सिर्फ कानूनले दिएको अधिकार प्रयोग गर्ने हो। सेनापति पनि एक सैनिक हो र ऊ सैनिक ऐन अन्तर्गत रहनु पर्छ। संगठनभित्र कृत्रिम शक्ति प्रयोग गरी कसैलाई लाखा र पाखा लगाउने अधिकार ऊसँग हुँदैन।”
नेपाली सेनाका प्रवक्ता रहेका सहायकरथी कृष्णप्रसाद भण्डारीले शाहीको पक्राउलाई हिरासत भन्न नमिल्ने र शाहीसँग केही कुरा बुझ्नुपर्ने भएकाले ब्यारेकभित्र बस्न निर्देशन दिइएको बताएका थिए। “विगतमा आर्थिक अनुशासनसँग सम्बन्धित विषयमा छानबिन भएको रहेछ, त्यो कम्प्लिट हुन बाँकी थियो। त्यसकै लागि उहाँलाई ब्यारेकभित्र बस्न निर्देशन जारी भएको हो”, भण्डारीले उकालोसँग मंगलबार भनेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
