खण्डहर सिंहदरबारमा धमाधम तयार पारिँदै नयाँ प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर नष्ट भएपछि अन्तरिम सरकारको प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिँदै छ।

खण्डहर सिंहदरबारमा धमाधम तयार पारिँदै नयाँ प्रधानमन्त्रीको कार्यालय
मनीष पौडेल/उकालो

काठमाडौँ– आगजनीबाट ध्वस्त भएको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भवनमा अहिले पनि धुवाँ आइरहेको छ।

भदौ २४ गते ‘जेनजी’ आन्दोलनमा आन्दोलनकारीले गरेको आगजनीले भवनका इँटा र काठ भत्किएका छन्, जसले विध्वंसको भयावह दृश्य देखाउँछ। यद्यपि, अब गठन हुने अन्तरिम सरकारको प्रधानमन्त्री कार्यालय भने सिंहदरबारभित्रै रहने निर्णय भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर नष्ट भएपछि अन्तरिम सरकारको प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गर्ने तयारी भएको हो।

null

कार्यसञ्चालनका लागि तत्कालीन प्रधानमन्त्री कार्यालयमा सम्भव नभएपछि गृहको भवन प्रयोग गर्न लागिएको गृहसचिव गोकर्णमणि दुवाडीले उकालोलाई जानकारी दिए।

“प्रधानमन्त्री कार्यालय जलेर ध्वस्त भएको छ। त्यहाँबाट कार्यसञ्चालन हुननसक्ने भएपछि छलफल गरेर गृहको भवनमा राख्ने कुरा भएको हो,” उनले भने, “हुन त हाम्रो आफ्नै कार्यालय पनि पूरै जलेको छ। अब यो कार्यालयलाई कहाँ सार्ने भनेर छलफल गरिरहेका छौँ।”

गृहको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाउने निर्णय भएसँगै उक्त भवनमा सोफा, कुर्सी र दराजसहितका फर्निचर ओसार्ने काम चलिरहेको छ। अहिले उक्त भवनमा सरसफाइकर्मीदेखि अन्य कर्मचारी पनि भवनलाई सजाउने काम गरिरहेका छन्।

null

त्यहाँका एक कर्मचारीका अनुसार शुक्रबार बेलुकीसम्म नयाँ प्रधानमन्त्री आउने भएर धमाधम काम अगाडि बढाइएको हो। “हामीलाई पाँच बजेसम्ममा भवन तयारी अवस्थामा राख्न भनिएको हो,” ती कर्मचरी भन्छन्, “सोहीअनुसार हामी खटिरहेका छौँ। केही जोगिएका फर्निचर पुरानो प्रधानमन्त्री कार्यालयबाट पनि ल्याइएको छ।”

मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका थिए।

null

चार मन्त्रालयबाहेक अन्यमा सामान्य क्षति
भदौ २४ गते भएको विध्वंशकारी जेनजी आन्दोलनमा सिंहदरबारभित्रका २३ वटामध्येका गृह मन्त्रालय, अर्थ मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालयमा पूर्णरूपमा क्षति पुगेको छ। बाँकी मन्त्रालयका भवनमा सामान्य तोडफोड मात्रै भएको छ।

यी चार मन्त्रालयमा ज्यादा क्षति हुनुको कारणचाहिँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नजिक भएर बुझिन्छ। बाँकी मन्त्रालयको भवनमा सामान्य क्षति भए पनि अगाडि पार्क गरिएका सवारीसाधन भने जलेका छन्। सिंहदरबारबाहिर राम शाह पथमा रहेका स्वास्थ्य मन्त्रालय जलेर पूर्ण क्षति भएको छ।

null

अन्तरिम सरकार गठन हुने सूचनासँगै सिंहदरबारस्थितका मन्त्रालयमा शुक्रबार सामान्य रूपमा चलपहल बढेको छ। प्रत्येक मन्त्रालयभित्र केही कर्मचारीको उपस्थित देखिएका छन्।