प्रधानमन्त्री कार्कीलाई बांग्लादेश सरकारका प्रमुख सल्लाहकारको बधाई

​​​​​​​बांग्लादेश सरकारका प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।

काठमाडौँ– बांग्लादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

शनिबारमा जारी गरिएको सन्देशमा युनुसले नेपालको चुनौतीपूर्ण समयमा कार्कीले उच्च पद सम्हाल्नु नेपाली जनताको उनीप्रतिको गहिरो विश्वासको प्रतिबिम्ब भएको बताएका छन्। प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बांग्लादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

साथै, उनले नेपालमा हालै भएका राजनीतिक घटनाक्रमका क्रममा भएको दुःखद मृत्युप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूप्रति सहानुभूति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।