सेन्ट जेभियर्सका क्यानेडियन शिक्षक फादर बिल रोबिन्सले एकपटक आलोकसिद्धिलाई विद्यालयबाहिर बनिरहेको रथ दुई महिनासम्म हेर्न भनेका थिए। सम्पदाबारे बुझ्दै जाँदा तिनै शिक्षकले भनेको कुरामा उनले ज्ञान भेटे।
काठमाडौँ– आलोकसिद्धि तुलाधर (५५) लाई अहिले एउटै कुरामा पछुतो लाग्छ– ‘काठमाडौँको सम्पदा जोगाउन सकिएन।’ सम्पदा मासिँदै गएर काठमाडौँको स्वरूप नै बिग्रिएको उनी बताउँछन्।
उनको सपना छ, काठमाडौँको मौलिक सम्पदा जस्ताको तस्तै भावी पुस्तालाई सुम्पने। त्यसैले उनी सम्पदा जोगाउने अभियानमा छन्। टुँडिखेल र खुलामञ्च अतिक्रमण हुन नदिन ‘अकुपाई टुँडिखेल’ नारा लगाइरहेका छन्।
त्यति मात्र होइन, रानीपोखरी, काष्ठमण्डप, बागदरबार, कमलपोखरीलगायत महत्त्वपूर्ण सम्पदा अतिक्रमण हुन नदिन र कंक्रिटका संरचना बन्नबाट रोक्न उनी हमेसा तम्तयार छन्। सम्पदा क्षेत्रलाई मास्न अग्रसर व्यक्ति र समूह मात्र होइन, जनप्रतिनिधिहरूका गलत कामविरुद्ध पनि औँला उठाउन पुगिहाल्छन्।
पछिल्लो दशक तीव्र रूपमा फेरिँदै गएको काठमाडौँलाई नजिकबाट देख्न साक्षी हुन्, आलोक। २०२४ सालमा मखन टोलमा जन्मिएका उनले त्यतिखेर जुन समाज र संस्कृति काठमाडौँमा देखेका थिए, त्यो अहिले कतै हराइरहेको भान हुन्छ।
कुनैबेला उनको टोल मूर्त र अमूर्त सम्पदाहरूको केन्द्र थियो। हरेक महिनाझैँ जात्रा र पर्व हुन्थे। सांस्कृतिक गतिविधिको रौनक चल्थ्यो। संस्कृति र सम्पदाले रैथाने जीवनलाई लयमा बाँधेको थियो। तर, ती संस्कृति कुन बेलादेखि औपचारिकतामा सीमित हुन पुग्यो, आलोकलाई याद छैन।
उनी घरमा हुने सांस्कृतिक गतिविधिमा सहभागी हुन्थे। त्यसको महत्त्वबारे भने कुनै चासो थिएन।
कम्प्युटर सफ्टवेयरको क्षेत्रमा साढे दुई दशक बिताइसकेपछि भने उनले जीवनलाई फर्किएर हेरे। तब आफ्ना मौलिक सम्पदा र संस्कृति टाढै छुटिसकेको पाए। सम्पदा र संस्कृतिबिना बाँचिरहेको आफ्नो जीवन पनि अपूर्ण लाग्न थाल्यो।
“४० वर्ष उमेर पुग्न थालेपछि मलाई मेरो संस्कृतिहरूको माया लाग्न थाल्यो”, उनी भन्छन्, “करियरले मानिसलाई निश्चित ठाउँसम्म पुर्याउँछ, नाम दाम कमाउँदा मनमा निश्चित शान्ति पनि देला, तर त्यो नै जीन्दगी होइन रहेछ। हाम्रो संस्कृति, सम्पदा भनेको हाम्रो जीवनको जरा रहेछ, जरा नै छुटिसकेपछि जीवनको अर्थ हुँदैन रहेछ।”
उनी कुनै बेला घरबाहिर निस्केर सडकमा आउने बित्तिकै देखिने भिडभाडमा चिनिएका अनुहारहरू धेरै भेट्थे। त्यो भीडमा अहिले उनी चिनिएका अनुहार मुस्किलले भेटिने बताउँछन्। आफू जन्मिएको आफ्नै गल्लीमा नचिनिएका अनुहारहरूको हप्काइ खानुपर्ने हो कि भन्ने डरले उनको मनमा डेरा जमाएको छ। “आफ्नै ठाउँमा आफू विस्थापित भएको जस्तो लाग्छ”, उनी भन्छन्।
त्यसपछि भने उनलाई अध्ययनका लागि खर्च गरेको २५ वर्ष र करियरको लागि खर्च गरेको २०/२२ वर्ष व्यर्थ लाग्न थाल्यो। त्यसपछि उनले संस्कृति र सम्पदाबारे अध्ययन गर्न थाले। जानकारहरूसँग भलाकुसारी गर्न थाले। यसरी अध्ययन गर्दै जाँदा सांस्कृतिक गतिविधिमा समेत रोचक र जीवनोपयोगी तर्क र अर्थ भेट्न थाले। त्यसपछि ती सम्पदा र रीतिथितिप्रति माया जाग्न थाल्यो।
सम्पदाप्रति रुची बढ्दै गएपछि उनले जाउलाखेलस्थित सेन्ट जेभियर्स विद्यालयमा भौतिकशास्त्र पढाउने आफ्ना क्यानेडियन शिक्षक फादर बिल रोबिन्सलाई सम्झिए। रोबिन्सले एक दिन कक्षामा भनेका थिए, “तिमीहरू आर्किटेक्चर इन्जिनियरिङ पढ्ने हो भने दुई महिनासम्म विद्यालयबाहिर बनिरहेको रथ अवलोकन गर।”
विद्यालयबाहिर मछिन्द्रनाथको जात्राका लागि रथ बन्थ्यो। त्यतिबेला फादर रोबिन्सले भनेको कुरामा आलोकको ध्यान गएन। किनकि, नेवार समुदायमा हरेक वर्ष चाडबाडमा कुदाउने रथमा उनले नौलो कुरा देख्दैनथे। तर, सम्पदाबारे बुझ्दै जाँदा तिनै शिक्षकले भनेको कुरामा ठूलो ज्ञान भेटे।
“हाम्रो नेवार समुदायमा बन्ने खट वा रथ काठैकाठको हुन्छ, त्यसलाई जोड्न बेतले बान्छ। कुनै पनि किला, फलामको प्रयोग गरिँदैन। जात्रा गर्दा जति हल्लाए पनि त्यो रथ टुक्राटुक्रा भएर झर्दैन”, उनी भन्छन्, “सामान्य लाग्ने रथले हामीलाई भूकम्प प्रतिरोधात्मक प्रविधिबारे जानकारी दिइरहेको रहेछ। भूकम्प आउँदा घर हल्लिए पनि नढल्ने हिसाबले कसरी बनाउन सकिन्छ भनेर सिकाएको रहेछ।”
अहिले आलोक आफ्नो वरपर भएका मूर्त तथा अमूर्त सम्पदालाई गहन रूपमा नियाल्छन्। नियाल्दै जाँदा पूर्खाले बनाएका संस्कृति र सम्पदाले मानिसको जीवनलाई गुणस्तरीय बनाउन भूमिका खेलेको भेट्छन्। तीनमा भएका वैज्ञानिक कारणहरूबारे आफू र आफ्ना छोराछोरीलाई समेत बुझाउँछन्। सम्पदाप्रतिको चेतले नै उनलाई अहिले सम्पदा बचाउ अभियन्ता बनाएको छ।
अकुपाई टुँडिखेल अभियानको जन्म
२०७२ वैशाख १२ गतेको भूकम्पले काठमाडौँका थुप्रै सम्पदामा क्षति पुर्यायो। रानीपोखरी, काष्ठमण्डप, बागदरबारलगायत सम्पदाको पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग हुन थाल्यो। मौलिकता मास्न काठमाडौं महानगर नै लागि परेपछि त्यसविरुद्ध आवाज उठाउनेमध्ये आलोक पनि थिए।
आलोकले सम्पदाको मौलिकता र त्यसको महत्व बुझिसकेका थिए। भत्कनुअघि जस्तो थियो, त्यसरी नै बनाउन उनले काठमाडौं महानगरपालिकालाई झक्झकाए। त्यतिबेलै उनले आफूजस्तै सम्पदाप्रेमीहरू भेटे। अनि सम्पदा जोगाउनेहरूको सानो समूह बन्यो। सामूहिक रुपमा आवाज उठाउन थाले।
खुलामञ्च र त्यही क्षेत्रमै रहेको दुई माजु मन्दिर परिसर अतिक्रमणको विषय चर्चामा आइरहेको थियो। खुलामञ्च र दुईमाजु मन्दिर परिसरलाई जोगाउने विषयमा उनीहरूले आवाज उठाउने तयारी थालिरहेका थिए। त्यही बेला, विजय श्रेष्ठले आफ्नो पारिवारिक जमघटमा सम्पदा संरक्षण अभियानमा संलग्न अभियन्तालाई पनि बोलाएका थिए।
२०७६ असोज २४ गते पारिवारिक जमघटपछि मध्यरातमा सबै अभियन्ता टुँडिखेल, खुलामञ्च र दुईमाजु मन्दिर कसरी जोगाउन सकिन्छ भनेर छलफल चलाउन थाले। त्यहीबाट अकुपाई टुँडिखेल अभियानको जन्म भएको आलोक बताउँछन्।
“त्यो बेलामा अकुपाई बालुवाटार अभियान बल्ल सकिएको थियो, हामीले टुँडिखेलमा भएको अतिक्रमणको विरोध गरिरहँदा एकजना पत्रकार साथीले ‘अकुपाई टुँडिखेल अभियान’ चलाउ भनेका थिए”, उनी भन्छन्, “हामीले अभियानहरू त चलाएका थियौँ, तर कुनै नाम दिएका थिएनौँ। टुँडिखेलको विषयमा ती पत्रकार साथीले दिएको आइडियालाई अभियान चलाउन हामी सबै अभियन्ता त्यो मध्यरातको छलफलमा राजी भयौँ। अनि अकुपाई टुँडिखेल अभियान चल्यो।”
यो अभियान चलाउने विषयमा विभिन्न व्यक्तिसँग कुराकानी गर्ने क्रममै कनकमणि दीक्षितसँग आलोकको भेट भयो। दीक्षितले आलोकलाई सोधे, “अकुपाई टुँडिखेल त अंग्रेजी नाम भयो, नेपाली नाम के राख्नुभयो त?”
उनले नेपाली नाम नराखेको बताएपछि दीक्षितले तुरुन्तै नारायण वाग्लेलाई फोन लगाए। “नारायण वाग्ले र केदार शर्मा सँगै हुनुहुँदोरहेछ। दुईमध्ये एकजनाले नेपाली नाम मुक्त टुँडिखेल जुराइदिनुभयो”, आलोक भन्छन्, “त्यसपछि हामीले अंग्रेजीमा अकुपाई टुँडिखेल, नेपालीमा मुक्त टुँडिखेल र नेपालभाषामा ‘चकं तिंख्य’ नामबाट टुँडिखेलको अतिक्रमण हटाउन अभियान चलाइरहेका छौँ।”
आलोकको लागि अभियान भनेको एउटा लत हो। अभियान नहुँदा उनलाई छट्पटी हुन्छ।
विकासको नाममा निरन्तर विनाशको श्रृंखला
आलोक विद्यालयमा छँदा पञ्चायतकाल थियो। पञ्चायत सरकारको एउटा राष्ट्रिय नारा थियो– विकासको मूल फुटाऊँ। अहिले त्यही नारा त छैन, तर सरकारले त्यसैअनुरुपको ‘विकास निर्माण’मा जोड दिएइरहेको उनीबताउँछन्।
आलोकका अनुसार नेतादेखि जनप्रतिनिधिले विकास निर्माणका कुरा गर्छन्। तर समय र ठाउँ सुहाउँदो विकास निर्माणका लागि कसैले योजना नबनाएको उनको गुनासो छ।
आलोकका अनुसार काठमाडौँको ‘कोर सिटी’मा विकास निर्माण गर्दा विनास हुन थालेको छ। “कोर एरियामा एक फिट माटो खन्यो भने त्यहाँ पुरातात्विक सामान भेटिन्छ। ४०/५० वर्षअघि बनाएको ढल भेटिन्छ। डेढसय वर्षअघिको टुकुचाको भेटिन्छ। मल्लकाल, लिच्छवीकालका सम्पदा भेटिन्छन्। कोर एरियावरिपरि विकास निर्माण भन्ने शब्दलाई प्रतिबन्धित गर्नुपर्छ”, उनी भन्छन्, “यहाँ विनास नगरी विकास गर्न सकिँदैन। त्यो असम्भवजस्तै छ। यहाँ भौतिक सेवा सुविधा जति चाहिने हो, त्यति पुगिसक्यो। पछिल्लो २०/३० वर्षमा निकै थपियो। ढल निकास, सडक, इन्टरनेट सबै भइसक्यो। अब विकास निर्माण चाहिएन, भएकोलाई व्यवस्थित गर्ने हो। विकास निर्माणलाई हेर्ने नजर नै फरक हुनुपर्यो।”
आलोकका अनुसार, अहिले सबैलाई पदमा पुग्न हतारो छ र पदमा पुग्ने बित्तिकै ‘केही गरेर देखाउने’ हुटहुटी छ। त्यही हुटहुटीका कारण अनावश्यक योजनाहरू बनिरहेको उनकोठम्याइ छ। उनी भन्छन्, “काठमाडौँ महानगरमा जति पदाधिकारी, जनप्रतिनिधि भएर आए, उनीहरूले सर्वसाधारणलाई फाइदा पुग्ने काम गरेनन्, आफ्नो नाम हुने कुरामा मात्रै केन्द्रित भए। त्यसले समस्या निम्त्याएको हो।”
बालेनको कामप्रति पनि असन्तुष्टि
वैशाख ३० मा स्थानीय तहको निर्वाचनताका प्रमुखका प्रत्यासी बालेन्द्र शाहले काठमाडौँलाई सम्पदाको क्षेत्रमा भक्तपुरझैं बनाउनेभन्दा आलोकलाई पनि राम्रो लागेको थियो। “निर्वाचनताका बालेनले ल्याएको तरंग अहिले ल्याउनुभएन। एकदमै कम समयमा अध्ययन गरेर परीक्षा दिन घोकेर बोर्डमा नाम निकालेको जस्तो देखियो”, उनी भन्छन्, “किताब कण्ठ गरेर जाँच दिएपछि राम्रो अंक त आउँछ, तर त्यसले ज्ञान वृद्धि हुँदैन।”
आलोकका अनुसार काठमाडौँका संस्कृति र सम्पदाबारे काम गर्न सतहमा बुझेर हुँदैन, गहन अध्ययन चाहिन्छ। बालेनले पनि काठमाडौंका सम्पदा र संस्कृतिको क्षेत्रमा गहन अध्ययन गर्न आवश्यक रहेको उनी बताउँछन्।
“गहनमा बुझ्न उहाँले अध्ययन गर्नै पर्छ। सही सल्लाहकार राख्नुपर्छ। छ महिना, एक वर्ष योजना बनाएर बाँकी चार वर्ष काम गर्दा हुन्छ। त्यसपछि उहाँले अर्का पाँच वर्ष काठमाडौंवासीको मन जित्नुहुन्छ”, उनी भन्छन्, “सतहमा बुझेर अगाडि बढ्नुभयो भने उहाँको भविष्य पनि खत्तम हुन्छ, काठमाडौंको भविष्य पनि खत्तम हुन्छ।”
सम्पदा जोगाउन लागिरहने प्रतिबद्धता
आलोक सानो उमेरदेखि नै अन्तरमुखी थिए। खेलकुदमा सहभागी हुँदैनथे। जाउलाखेलको सेन्ट जेभियर्समा पढ्दा त्यहाँ विद्यालयको ठूलो मैदान थियो। उनी मार्चपासबाहेक अन्य खेलमा भाग लिन रुचाउँदैन थिए। तर, बिदाको समयमा आफ्नो टोलका साथीहरूसँग फुटबल खेल्न टुँडिखेल जान्थे।
युवावस्थामा कहिलेकाहीँ दिक्क लागेको बेला टुँडिखेलमा गएर घाममा पल्टेर बस्दा मान्छेको भिडभाडमा पनि आनन्द मिल्थ्यो उनलाई। उनको लागि सांसारिक तनावबाट मुक्त हुने ठाउँ थियो टुँडिखेल। तर अहिले टुँडिखेल र त्यहाँभित्रको खुलामञ्च अतिक्रमणमा पर्दै गयो। त्यसैले टुँडिखेल जोगाउन गुरुमापा नै जगाउन परे पनि जगाउने आलोक बताउँछन्। “गुरुमापाले टुँडिखेलको रक्षा गर्छन्”, उनी भन्छन्, “यो लेजेन्डरी ठाउँ बचाउन हामी लेजेन्डकै सहारा लिन्छौँ।”
अहिले आलोकलाई सम्पदा बचाउने अभियानमा लाग्दा छुट्टै खुशी मिल्छ। युवावस्थामा सम्पदा बचाउन अभियान चलाउन नसकेको पछुतोलाई उनी सम्पदा बचाएर कम गर्दै लान प्रतिवद्ध छन्।
उनी भन्छन्, “जब–जब कंशको जन्म हुन्छ, त्यहाँ कृष्णको पनि जन्म हुन्छ भन्छन्। यहाँ सम्पदा जोगाउन जन्मिएका कंशका बीचमा हामी (सम्पदा संरक्षण अभियन्ता) सधैँ कृष्ण बनेर उभिनेछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
