पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले छाडिन् रास्वपा

पार्टी नेतृत्वले कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने अवस्था आएपछि पार्टी छाडेको उनको भनाइ छ।

काठमाडौँ– पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। उनले आइतबार पार्टी छाडेको घोषणा गरेकी हुन्। 

आफूले पार्टी छाडेर खुल्ला रूपमा आक्रमण गर्ने भए पनि सजिलो बनाइदिएको श्रेष्ठले जनाएकी छन्। “मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। मैले पार्टी छोडेँ,” उनले भनेकी छन्। 

पार्टी नेतृत्वले कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने अवस्था आएपछि पार्टी छाडेको उनको भनाइ छ। 

“पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ,” उनले भनेकी छन्, “तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।” 

उनले कांग्रेस एमालेलगायत पार्टीका तेस्रो पुस्ताका नेतालाई पनि ध्यानाकर्षण गराएकी छन्। “आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोराले हो। त्यो किन बोकेर बस्नु हुन्छ? अहिले सही समय आएको छ,” उनले भनेकी छन्, “आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।”

श्रेष्ठले केही समयअघि मात्रै रास्वपाको सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन्। रास्वपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेश परजुलीले श्रेष्ठले पार्टी छाडेकोबारे पार्टीलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिए।