तीन दिनभित्र क्षतिको विवरण निकाल्ने शहरी मन्त्रालयको तयारी

शहरी विकास मन्त्रालयका सचिव सचिव गोपालप्रसाद सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन्।

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने शहरी मन्त्रालयको तयारी
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– शहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठकले गत मंगलबार ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएका, केही गाडीहरू तोडफोड भएका, कार्यालयका उपकरण तथा सामानहरू चोरी भएका बताउँदै बाँकी क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए।

“सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि सहरी विकास मन्त्रालय भने जोगिएको छ, तर यहाँका सामानहरू चोरी भएका छन्। गाडी जलेर सबै नष्ट भएका छन् । हामी कार्यालयसम्म पैदल हिँडेर आएका हौँ”, उनले भने, “मन्त्रालयले तीन दिनभित्र क्षतिको विवरण निकाल्नेछ। आगामी दिनमा शोकलाई शक्तिमा बदल्दै कसरी अगाडि बढ्ने भन्ने तयारी पनि गरिरहेका छौँ।”

सचिव सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन्। अब कहाँ बसेर काम गर्ने भन्ने विषयमा अन्योल रहेको उनको भनाइ छ। “मन्त्री क्वाटरसहित मन्त्रालयद्वारा निर्माण सम्पन्न भएका भवनहरूको पनि के कति क्षति भएको छ, संकलन गर्नेछौँ। आज भने हामी कसरी अगाडि बढ्ने छलफल गर्ने, सरसफाइ गर्नेलगायत कार्य गरेका छौँ”, उनले भने।