विभिन्न जेलबाट भागेका ४ विदेशीसहित १४ कैदीबन्दी धनुषाबाट पक्राउ

विभिन्न जेलबाट भागेका चार जना विदेशीसहित १४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले पक्राउ गरेको छ।

काठमाडौँ– विभिन्न जेलबाट भागेका १४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले पक्राउ गरेको छ। 

चार जना विदेशी कैदीबन्दीसहित १४ जनालाई शुक्रबार, शनिबार र आइतबार धनुषाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएका हो।

पक्राउ परेका १० नेपालीमध्ये ६ जना सिन्धुली कारागारका कैदी हुन् भने, चार जना महोत्तरीस्थित जलेश्वर कारागारका हुन्। उनीहरू सबै आ–आफ्नो घरबाटै पक्राउ परेका हुन्।

त्यस्तै, चार जना विदेशी कैदीबन्दीहरू केन्द्रीय कारागार नख्खुबाट भागेकाहरू हुन्। विदेशी नागरिकहरू सबै नेपाल–भारत सीमा नाकाबाट पक्राउ परेको प्रहरीले जनाएको छ। 

जेलबाट फरार भएर पक्राउ परेमा विदेशीहरूमा नाइजेरियाका तीन जना र एक जना ब्राजिलका रहेको धनुषा प्रहरी कार्यालयले जनाएको छ। 

भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न परिस्थितिपछि देशभरका विभिन्न कारागारबाट १३ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए। तीमध्ये अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कैदीबन्दी पक्राउ परेका छन्। १० हजारभन्दा बढी कैदीबन्दी भने फरार छन्।