इजरायलसँग दोहोरो मापदण्ड नअपनाउन कतारका प्रधानमन्त्रीको आग्रह

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन पनि आग्रह गरेका छन्।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न’ र इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन आग्रह गरेका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार दोहामा इजरायलले हमासका नेताहरूमाथि हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपतकालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित तयारी बैठकमा उनले यस्तो बताएका हुन्।

“अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्ने र इजरायलले गरेका सबै अपराधहरूको लागि सजाय दिने समय आएको छ,” प्रधानमन्त्री थानीले भने, “इजरायलले विनाशको भुमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न सक्ने छैन।”

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले अरब र इस्लामिक नेताहरूको सोमबारको बैठकमा ‘कतारमाथि इजरायली आक्रमणको मस्यौदा प्रस्ताव’ तयार गर्ने विषयमा छलफल हुने बताए।

सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन र इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानी पनि सहभागी हुनेछन्। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास शिखर सम्मेलनको पूर्वसन्ध्यामा आइतबार दोहा पुगेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन्।

साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले यस हप्ताको शुरूमा छिमेकीको ऐक्यबद्धताको प्रदर्शनका लागि कतारको भ्रमण गरको भए पनि उनी सम्मेलनमा पनि उपस्थित हुने बताइएको छ।

यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा रहेको कतारले संयुक्त राज्य अमेरिका र इजिप्टसँगै इजरायल–हमास युद्धमा मध्यस्थताको महत्त्वपूर्ण भूमिका खेलेको छ।

शिखर सम्मेलनले इजरायल र हमासबीचको युद्धमा ‘निर्णायक र एकीकृत अरब–इस्लामिक धारण’ र ‘स्पष्ट र विशिष्ट उपायहरू’ अगाडि ल्याउने आशा गरेको प्यालेष्टिनी लडाकू समूह हमासका पोलिटब्युरो सदस्य बासेम नईमले बताएका छन्।