विराटनगरस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला

‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला परेको छ।

विराटनगर- ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एउटा मानव कंकाल फेला परेको छ।

मोरङ प्रहरीका अनुसार, सोमबार बिहान सरसफाइ गर्ने क्रममा भवनको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको शव भेटिएको हो। प्रहरीको प्रारम्भिक अनुमानमा आगजनी र लुटपाटको क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ। शवलाई शवपरीक्षण पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले बताइन्।

‘जेनजी’ आन्दोलनको समयमा भाटभटेनी सुपरमार्केटका शाखाहरू प्रदर्शनकारीको निशानामा परेका थिए। विराटनगर र धरानका भाटभटेनी भवनमा ठूलो क्षति पुगेको छ। यसअघि, आगजनीमा परेको धरानस्थित भाटभटेनीमा पनि जलेको अवस्थामा चार वटा शव भेटिएका थिए।