‘जेनजी’ आन्दोलनमा हतियार लुट्ने २ जना पक्राउ

प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाममा हतियार लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको एसएलआर राइफलसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, पक्राउ पर्नेमा ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादव रहेका छन्।

लोक सेवा आयोगको कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोली र एक थान राइफल लुटिएको थियो। प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

आन्दोलनका क्रममा आयोगको कार्यालयमा रहेका चारवटा गाडी, चारवटा मोटरसाइकल, सीसीटीभी क्यामरा र अन्य कार्यालयका सामग्रीहरूमा पनि तोडफोड र आगजनी भएको थियो।