यस वर्षको दशैँको टीकाको उत्तम साइत ११:५३ मा

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जनाएको छ।

काठमाडौँ– नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको बडा दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

समितिले मंगलबार एक सूचना जारी गर्दै असोज १६ गते बिहान ११:५३ बजे टीकाको शुभ साइत रहेको जानकारी दिएको हो। टीका लगाउने व्यक्ति पूर्व दिशातर्फ फर्किनुपर्ने समितिले जनाएको छ।

समितिले मंगलबार जारी गरेको सूचनाअनुसार यस वर्षको बडा दशैँ असोज ६ गतेदेखि शुरू हुँदै छ। त्यस दिन बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको छ। 

असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झन्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुने समितिको सूचनामा उल्लेख गरिएको छ। 

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ।

असोज १४ गते मंगलबार महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधबार महानवमी परको छ।