कर्णाली राजमार्गको कालिकोटखण्ड पहिरोले अवरुद्ध

राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्।

सुर्खेत– कर्णाली राजमार्गस्थित गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। 

कालिकोट खण्डको गगने भीरमा मंगलबार राति पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। असारयता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नु परेको छ। 

वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुंगा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेक रावतले बताए। “गगने खोलामा नियमित पहिरो गएपछि बटो खुलाउन कठिन भएको छ,” उनले भने। 

बिहानैदेखि खुलाउन प्रयास गरिए पनि पहिरो नरोकिएकाले समस्या भइरहेको छ। राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्।