दुई महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११.३५ प्रतिशत असुली भएको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च ९.१७ प्रतिशत भएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन र भदौमा चालुतर्फ ९.६७, पुँजीगततर्फ १.५६ र वित्तीय व्यवस्थातर्फ १५.८९ प्रतिशत बजेट खर्च भएको हो। 

यस वर्ष कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा १ खर्ब ८० अर्ब १७ करोड ४ लाख रुपैयाँ खर्च भएको छ। चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा हालसम्म १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख रुपैयाँ बराबर खर्च भएको छ। 

त्यस्तै, पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा ६ अर्ब ३५ करोड ३३ लाख खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको वार्षिक विनियोजन रहेकोमा भदौ मसान्तसम्ममा ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भएको छ।

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको १०.४३ प्रतिशत राजस्व संकलन गरेको छ। चालु आवका लागि कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म १ खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख असुली भएको हो।

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११.३५ प्रतिशत असुली भएको छ। त्यस्तै, गैरकरतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख असुली गर्ने वार्षिक लक्ष्य रहेकोमा ४.६२ प्रतिशत उठेको छ।

त्यस्तै, चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म २.३८ प्रतिशत अनुदान प्राप्त भएको छ।