गत हप्ताको आन्दोलनअघि कमै सुनिने ‘जेन–जी’ शब्द अहिले कुराकानीको केन्द्रमा छ। धेरैले आफ्नो पुस्ताबारे पनि सोधखोज गर्न थालेका छन्। कसरी हुन्छ पुस्ताको नामकरण? कस्ता छन् अघिल्लो पुस्ताको प्रवृत्ति?
काठमाडौँ– जेन–जीको नाममा भदौ २३ गते आह्वान भएको आन्दोलनले २४ घण्टा नबित्दै नेपालको सरकार नै ढाल्यो। शान्तिपूर्ण भनिएको आन्दोलन एकाएक हिंसात्मक बन्दा पहिलो दिन १९ जनाको मृत्यु भयो। हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ। देशको प्रमुख प्रशासकीय भवन सिंहदरबारसहित धेरै कार्यालय जलेका छन्।
यही आन्दोलनले ‘जेन–जी’ शब्दलाई सर्वसाधारणमा स्थापित गरिदियो। आन्दोलनअघि कमै मानिसले प्रयोग गर्ने यो शब्द अहिले चियापसल, बाटोघाटो वा जहाँसुकै हुने कुराकानीमा सुनिन्छ।
आखिर के हो जेन–जी, जेन–जीअघि वा पछिका पुस्ताको नामकरण भए वा भएनन्, ती पुस्ताको चरित्र कस्तो थियो? जेन–जी आन्दोलनसँगै धेरैले आफ्नो पुस्ताबारे पनि सोधखोज गर्न थालेका छन्।
कुनै निश्चित समयावधिमा जन्मिएका मानिस उस्तै ऐतिहासिक, सामाजिक, सांस्कृतिक परिवेशमा हुर्किएका हुन्छन्, त्यस्तो पुस्तालाई निश्चित नाम दिने गरिन्छ। जस्तो, जेन–जी भन्नाले सन् १९९७ देखि २०१२ सम्म जन्मिएकाहरू हुन्। यस्तो पुस्ताको नामकरणमा औसत १५ देखि २० वर्षको अन्तरमा दिइएको पाइन्छ।
पुस्तालाई नाम दिने चलन कुनै वैज्ञानिक शोधमा भन्दा सामाजिक परिवर्तन र अन्य आयामबाट निर्धारित छ। विशेषतः यो प्रयोग अमेरिकाको प्राज्ञिक क्षेत्रमा प्रचलित छ। यद्यपि, यसले विश्वव्यापी मान्यता पाउन थालेको छ।
टाइम म्यागेजिन उल्लेख भएअनुसार, पुस्ताको नाम राख्ने यस्तो प्रयोग पहिलो पटक ग्याड्रिड स्टाइन नामक उपन्यासकारले गरेकी थिइन्। उनले सन् १८८० देखि १९०० मा जन्मिएका पुस्तालाई ‘लस्ट जनेरेसन’को रूपमा आफ्नो उपन्यासमा व्याख्या गरेकी थिइन्।
त्यस्तै, अर्का विश्व प्रसिद्ध उपन्यासकार अर्नेस्ट हेमिङ्वेको उपन्यास ‘द सन् अल्सो राइजेज’ को एपिग्राफमा पनि पहिलो विश्वयुद्धमा बाँचेलाई ‘लस्ट जेनेरेसन’ भनेर उल्लेख गरेका थिए।
प्राज्ञिक क्षेत्रमा उपन्यासकार तथा बजार विश्लेषकले २०औँ शताब्दी अघिदेखि पुस्ताको नाम प्रयोग गरेका थिए। २०औँ शताब्दीपछि यसले मूलधारका मिडियामा पनि बिस्तारै ठाउँ पायो।
नेपालमा इन्टरनेटको पहुँचमा पुगेको जेन–वाई पनि भनिने मिलेनियल्स पुस्ताबाट हो। त्यसपछिको जेन–जीसम्म आउँदा प्राविधिक रूपमा विश्वले धेरै फड्को मारेको छ। फेसन र जीवनशैलीमा पनि फरकपन आएको छ।
त्यसो त, सन् १९०० पछिका हरेकजसो दशकमा संसारमा केही न केही नयाँ फेसन आए। कुनै न कुनै तरिकाले जीवनशैली परिवर्तन हुँदै गयो। सक्स होप्स्, बेली बटम प्यान्ट, हिपहप जिन्स हुँदै टिकटक च्यालेन्जसम्म आइपुग्दा नयाँनयाँ फेसन ट्रेन्ड र प्राविधिक परिवर्तन देखिने ‘हाउ स्टफ वर्क्स’ नामक अनलाइन पोर्टलले उल्लेख गरेको छ। सन् १८८३ देखि २०३९ सम्मको पुस्ताको नाम र प्रवृत्तिलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ।
द लस्ट जेनेरेसन (सन् १८८३–१९००)
यो पुस्ता अब संसारमा छैनन्। यो पुस्ताका मानिस बाँचिरहेका भए १२५ देखि १४३ वर्षका हुने थिए। पहिलो विश्वयुद्ध देखेको यो पुस्ताले अतुलनीय बसाइँसराइ गरेको थियो।
यस पुस्ताबारे उपन्यास वा प्राज्ञिक क्षेत्रमै पनि कमै चर्चा पाइन्छ। उपन्यासकार इर्नेस्ट हेमिङ्वे, एफ स्टक फिट्जराल्डलगायतले भ्रम र उदासीपूर्ण जीवनलाई केन्द्रमा राखेर उपन्यास लेखेका छन्।
द ग्रेटेस्ट जेनेरेसन (सन् १९०१–१९२४)
यो पुस्ता हाल १०१ देखि १२४ वर्षका भए। यस पुस्तालाई ‘जीआई जेनेरेसन’ पनि भनिन्छ। जीआईको अर्थ ‘गभर्मेन्टल इस्यु’ अथवा ‘जेनेरल इस्यु’ हो। यो पुस्ताले पहिलो र दोस्रो विश्वयुद्ध र आर्थिक संकट भोगेको छ।
सन् १९२९ बाट शुरू भएको आर्थिक मन्दी १९३० को दशकसम्म चल्यो। सन् १९१४ देखि १९१८ मा कसैको पनि बाल्यकाल सुखद् भएन। सोही कारण पनि यो पुस्तालाई निराश पुस्ता मानिन्छ।
द ग्रेटेस्ट जेनेरसनको रूपमा शब्दावलीको प्रयोग भने सन् १९९० को दशकमा अमेरिकी समाचार प्रस्तुतकर्ता टम ब्रोकले ल्याएका थिए। यो पुस्ता पुरातनवादी तथा नयाँ प्रविधि र आधुनिक आविष्कारमा चासो र विश्वास नराख्ने रूपमा चिनिन्छ।
द साइलेन्स जेनेरेसन (सन् १९२५–१९४५)
यो पुस्ता अहिले ८० देखि १०० वर्षका भए। यो पुस्ता दोस्रो विश्वयुद्धको संघारमा जन्मिएका हुन्। त्यही कारण उनीहरूको जीवनमा युद्धको प्रभाव परेको थियो।
टाइम्स म्यागेजिनमा उल्लेख भएअनुसार, युद्ध रोकिएसँगै यो पुस्ता सामान्य घरेलु जीवनशैली र कामकाजमा मग्न भए। शासन व्यवस्था र सरकारको निर्णयमा विपक्षीको रूपमा कहिल्यै आवाज उठाएनन्। बरु, मौन सहमति जनाए। सोही कारण पनि यो पुस्तालाई ‘साइलेन्ट जेनेरसन’ भनिन्छ।
त्यस्तै, विश्वयुद्धका हिरो ‘जीआई जेनेरेसन’ र औद्योगिक युगका ‘बेबी बुमर’ बीचको चपेटामा यो पुस्ताको भूमिका गौण देखिएको कारण पनि साइलेन्ट जेनेरेसन भनिएको सन् १९७७ को वासिङ्टन पोस्टमा उल्लेख छ।
सन् १९५१ मा, टाइम्स म्याजेगिनमा प्रकाशित भएको एक लेखमा ‘साइलेन्स जेनेरेसन’ शब्द प्रयोग भएको थियो। यस समय चलनमा रहेको रक एन्ड रोल सांगीतिक पृष्ठभूमि, जोन लेननलगायत पक्षबाट ‘रक एन्ड रोल’, ‘जेनेरेसन जोन्स’ जस्ता नाम दिइए पनि तिनले चर्चा पाएनन्।
बेबी बुमर (सन् १९४६–१९६४)
यो पुस्ता हाल ६१ देखि ७९ वर्ष उमेरका भए। विश्वयुद्धपश्चात फर्किएका योद्धाले सामान्य घरेलु जीवनयापन थालेपछि जनसंख्यामा ह्वात्तै वृद्धि भएको बताइन्छ। त्यसकारण यो समयावधिमा जन्मिएकालाई ‘बेबी बुमर’ भनिन्छ।
त्यस बेला युद्धबाट फर्किएकालाई सम्बन्धित देशका सरकारले पनि समाजमा स्थापित गर्न सहज बनाएको थियो। सांस्कृतिक र आर्थिक पाटोबाट पनि समाज सबल हुँदै आयो। यो अवधिमा विकास र शहरीकरणको अवधारणा विस्तार भइरहेको थियो।
विश्व इतिहासमा ‘बेबी बुमर’ सबैभन्दा सुखद् जीवनशैली यापन गर्ने पुस्ता मानिन्छ। विश्वयुद्धपछि तंग्रिएको अर्थतन्त्र, विकाससँगै बेबी बुमरहरूको नैतिक र कर्तव्यनिष्ठ स्वभाव पनि यसको कारण थियो। यो पुस्ता कामप्रति बफादर, नैतिकवान, प्रतिस्पर्धी भावनाका थिए। उनीहरू आफ्नो व्यक्तिगत स्वतन्त्रता र जिम्मेवारी दुवैलाई निर्वाह गर्थे।
यद्यपि, सामाजिक पक्षबाट बेबी बुमरको प्रशंसा र आलोचना दुवै हुने गरेको छ। विकास र प्रतिस्पर्धाको समयमा उनीहरू वातावरण प्रदूषण र ह्रासप्रति चेतनशील नभएको आरोप लाग्छ। शीत युद्ध, चन्द्रमामा पहिलो मानव यात्रा, मार्टिन लुथर किङ र राष्ट्रपति जोन एफ केनेडी हत्या, भियतनाम युद्ध तथा नागरिक अधिकारको लडाइँलगायत ऐतिहासिक घटनाको साक्षी यी पुस्ता भए।
जेन एक्स (सन् १९६५–१९८०)
यो पुस्ता हाल ४५ देखि ६० वर्षका भए। यो पुस्ताको उदय विश्व आविष्कार, प्रविधि र इन्टरनेटसँगै भयो। उनीहरूको लागि सामाजिक मूल्यमान्यता कम प्राथमिकतामा परे। सन् १९७० र ८० को दशकमा हुर्किएका यी पुस्ताले राजनीतिक तथा आर्थिक परिवर्तन (शीत युद्ध र स्टक मार्केट गिरावट) भोगे।
पारिवारिक पाटोमा भने यी पुस्ता बुबाआमा दुवैको कमाइमा हुर्के। एकल परिवारको अवधारणामा पनि अर्को पाटो बन्यो। यसले उनीहरूमा आत्मनिर्भर हुनुपर्ने व्यक्तित्व विकास गर्यो।
काम र व्यक्तिगत जीवनमा सन्तुलन हुनुपर्ने उनीहरूको अभिभावकको मान्यताबाट यो पुस्ता फरक सोच राख्थ्यो। १०–५ बजेको जागिरे जीवनभन्दा पनि खुकुलो र परिणाममुखी कामलाई प्राथमिकतामा राख्ने पहिलो पुस्ताका रूपमा यसलाई चिनिन्छ। यस प्रकारको आत्मनिर्भरताले पछि एकल उदासीपूर्ण जीवनशैलीसम्म पुग्यो।
भिडियो गेम र प्राविधिकको सुविधा भोग शुरूमा यही पुस्ताले गरेको हो। सरकारलाई प्रतिप्रश्न अनि अविश्वास गर्न पनि यही पुस्ताले शुरू गरेको थियो। बेबी बुमरको तुलनामा सानो संख्यामा रहे पनि प्रतिकार गर्ने, विरोध जनाउने र आत्मनिर्भर हुने चरित्र यो पुस्ताको थियो।
जर्मनीस्थित बर्लिनको पर्खाल ढल्नेदेखि पहिलो कम्प्युटर र शिक्षामा प्राथमिकता यही पुस्ताको समयमा शुरू भयो। जेन एक्सलाई बेबी बुमर र मिलेनियल्सबीचको माहिला सन्तानको रूपमा व्यंग्य पनि गरिन्छ।
जेन वाई/मिलेनियल्स (सन् १९८१–१९९६)
यो पुस्ता हाल २९ देखि ४४ वर्षका भए। मिलेनियल्सको रूपमा मानिने यो पुस्ता हाल युवावस्थामा छन्। जेन वाई पनि भनिने यो पुस्ताले प्रविधिक प्रगतिको गति, आर्थिक तरलता र विश्वव्यापी सञ्चारग्राममा सम्पर्कमा रहेर हुर्किए।
सञ्चार र सूचनाको चुस्त गतिमा यो पुस्ताले आफूलाई प्राविधिक क्षेत्रमा खरो साबित गरेको थियो। गिग इकोनोमी (नवीकरणीय अर्थतन्त्र)को शुरूआत यही पुस्तासँगै भयो।
यद्यपि, सन् १९०१ मा अमेरिकामा ट्विन टावरमाथि भएको हमला सेप्टेम्बर ११, इन्टरनेटको प्रादुर्भावसँगै आएको आर्थिक संघर्षबाट यो पुस्ता अछुत रहन सकेन। उनीहरूका लागि उच्च शिक्षाको लागि ऋण लिनुपर्ने समय पनि आयो।
अघिल्ला पुस्ता जसरी करिअरको सफलताको सहज प्राप्ति भएन। यो पुस्ताले शिक्षा र करिअरमा धेरै संघर्ष गरेका छन्। प्रविधिमा अति नै निर्भर हुने, व्यावसायिक नैतिकता, धैर्यता नभएको र क्षणिक उपलब्धिमा रमाउने पुस्ताको रूपमा आलोचना पनि हुने गरेको छ।
सामाजिक तथा राजनीतिक चेतनातर्फ भने यो पुस्ता उदार छ। वातावरण परिवर्तन, सामाजिक न्याय र समावेशीतालाई यो पुस्ताको प्राथमिकतामा परेका छन्।
जेन–जी (सन् १९९७–२०१२)
यो पुस्ता हाल १३ देखि २८ वर्षका भए। जन्मनासाथ नै स्मार्टफोनसँग अभ्यस्त यस पुस्तालाई ‘आई–जेन’ पनि भनिन्छ। यो पुस्ता पूर्णरूपमा सञ्चार, सूचना र कम सामाजिक अन्तरक्रियामा हुर्किरहेका पुस्ताका रूपमा परिभाषित गरिन्छ। उनीहरू सामाजिक, वातावरणीय तथा प्राविधिक परिवर्तनको रफ्तारमा हुर्किएका थिए। यो पुस्ताले राजनीतिक ध्रुवीकरणदेखि आर्थिक असमानता व्यापक रूपमा अनुभव गरिरहेका छन्।
वातावरण परिवर्तन, सामाजिक सञ्जालको उदय, सामूहिक हिंसा र सामाजिक राजनीतक दबाबले यो पुस्तालाई सबैभन्दा निराश मानिन्छ। यद्यपि, सामाजिक अभियानमा पनि यही पुस्ताअघि देखिन्छ। नेपालको सन्दर्भमा राजनीतिक उथलपुथलको कारण पनि जेन–जी आन्दोलन नै रह्यो।
शैक्षिक अध्ययनका लागि चर्को मूल्य, अटोमेसन र गिग इकोनोमीका कारण अनिश्चित रहेको रोजगार बजार, अस्थिर अर्थतन्त्र यो पुस्ताका चुनौती हुन्। यसले उनीहरूलाई स्र्टाटअपजस्ता स्वरोजगारतर्फ धकेल्यो। सामाजिक र राजनीतिक कोणबाट भने उनीहरू न्याय, समावेशिताका लागि आवाज उठाएको देखिन्छ।
सर्ट अटेन्सन स्पान अर्थात्, कमजोर ध्यानाकर्षण, कमजोर व्यावसायिक नैतिकता, सामाजिक न्यायमा अतिवादी, अति संवेदनशील र अधैर्य पुस्ताको रूपमा आलोचना पनि हुने गरेको छ।
जेन अल्फा (सन् २०१३ –२०२४)
हाल यो पुस्ता १ देखि १२ वर्षका भए। यो २१औँ शताब्दीलाई पूर्णरूपमा टेकेपछि जन्मिएको पुस्ता हो। जन्मदेखि स्मार्ट फोन, ट्याबलेट र एआईसँग हुर्र्किरहेका यो पुस्ता अघिल्ला पुस्ताभन्दा प्रविधिमा अझ घुलिएका छन्।
जेन–जी पश्चात नयाँ युगको शुरूआतको रूपमा यो पुस्तालाई फरक तरिकाले हेरिएको सामाजिक अध्येयता मार्क मक्क्रिन्डलको बुझाइ छ। यो पुस्ताले पारिवारिक संरचना, जातीय र वर्गीय अझ विविधता तथा आर्थिक असमानता सामना गर्नेछन्।
सामाजिक र राजनीतिक रूपमा यो पुस्ता विश्वसँग प्रत्यक्ष रूपमा सम्पर्कमा रहने छन्। भविष्यमा सांस्कृतिक, प्राविधिक, वातावरणीय प्रगति यति व्यापक रहने छ कि, जेन अल्फाले पुरानो पुस्ताले बसाएको प्रविधिको जगलाई अर्को उचाइमा लैजाने छन्।
जेन बेटा (सन् २०२५ देखि २०३९)
सन् २०२५ यता जन्मिएर एक वर्ष पनि नपुगेका पुस्ता जेन बेटाको रूपमा चिनिन्छ। यस पुस्ताको कस्तो स्वभाव र सामाजिक, प्राविधिक सम्बन्ध रहनेछ, कस्ता विचारधारा राख्ने छन्, त्यो निश्चिित भइसकेको छैन। यद्यपि, उनीहरू एआई र प्राविधिकमा केन्द्रित हुने अध्येताहरूले बताइरहेका छन्।
(एजेन्सीको सहयोगमा)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
