नेपालगन्जमा हुने ऐतिहासिक रामलिला स्थगन

रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको व्यवस्थापन समितिले जनाएको छ।

बाँके– नेपालगन्जमा १५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला यसवर्ष स्थगन भएको छ।

घटस्थापनाबाट शुरू हुने रामलिला नभए पनि रावण बधको सामान्य कार्यक्रम हुनसक्ने रामलिला व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिनुभयो।

उनले रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको बताए। व्यवस्थापन समितिका अध्यक्ष कनौडियाले रामलिलामा रामायणमा आधारित श्रीरामको जन्मदेखि राज्यभिषेकसम्मको रामचरित्र प्रस्तुत गर्नुपर्ने हुँदा त्यसका लागि कलाकार भारतबाट आउने भएकाले सुरक्षा चुनौती रहेको बताए।

यसअघि पनि कोभिड–१९ का बेला  रामलिला दुई वर्ष स्थगन गरिएको थियो। नेपालगन्जको मौलिक इतिहास बोकेको रामलिलालाई यहाँका स्थानीय अवधि समुदायले संरक्षण गरिरहेका छन्।

स्वर्गीय रामगोपाल टण्डन, भाइलाल हल्वाइलगायतले नेपालगन्जमा रामलिला महोत्सवको शुरूआत गरेको बताइन्छ।