फ्रान्समा ट्रेड युनियनको हडताल, बजेट योजनामा चुनौती

प्रदर्शनका कारण सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ।

फ्रान्समा बजेट कटौतीको विरोधमा प्रमुख ट्रेड युनियनहरू हडताल र सडक प्रदर्शनमा उत्रिएका छन्। 

नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ठूलो घाटा र ऋण नियन्त्रणबारे राजनीतिक दलसँग छलफल गरिरहेका बेला यो कदम आएको हो।

पूर्व गृहमन्त्री ब्रुनो रिटेलियोले बिहीबार सडकमा करिब ८० हजार प्रहरी र जेन्डरमेरी अफिसर तैनाथ हुने बताए। प्रदर्शनका कारण सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ।

फ्रान्सेली राष्ट्रिय रेल कम्पनी एसएनसिएफले फ्रान्स र युरोप जाने उच्च गतिको रेलहरूमा ‘केही अवरोध’ हुने अपेक्षा गरे पनि अधिकांश रेल चल्ने जनाएको छ। तर क्षेत्रीय रेल लाइन, पेरिस मेट्रो र यात्रुवाहक रेल बढी प्रभावित हुनेछन्।

गत हप्ताको विरोध प्रदर्शनमा धुवाँ, आगो, अवरोध र अश्रु ग्याँसले सडकमा तनाव चुलिएको थियो। 

युनियनहरूले प्रधानमन्त्री लेकोर्नुलाई अघिल्लो सरकारले प्रस्ताव गरेको बजेट मस्यौदा फिर्ता लिन आग्रह गरेका छन्। उक्त योजनामा सामाजिक कल्याण स्थगन र मितव्ययिता उपाय समावेश छन्, जसले कम तलब र मध्यमवर्गीय कामदारको क्रयशक्ति घटाउने उनीहरूको चेतावनी छ। 

युनियनहरूले राष्ट्रपति इमानुएल म्याक्रोनको पेन्सन सुधार योजनासमेत अस्वीकार गर्दै आएका छन्। उक्त योजनामा न्यूनतम सेवानिवृत्ति उमेर ६२ वर्षबाट ६४ वर्ष बनाइएको छ। (रासस/एपी)