प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैको 'जेनजी' आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। साथै, उनले नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)को अवसरमा शुभकामना पनि दिएका छन्।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकोमा प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै दुवै प्रधानमन्त्रीबीच टेलिफोन कुराकानी भएकोबारे जानकारी दिएको हो।

भारतीय प्रधानमन्त्री मोदीले हालैको ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै भारत यस संवेदनशील घडीमा नेपालको साथमा रहेको बताए। साथै, उनले नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)को अवसरमा शुभकामना पनि दिए। 

प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिँदै ऐक्यबद्धताका लागि आभार व्यक्त गरिन्। उनले 'जेनजी' आन्दोलनको भावनालाई सम्बोधन गर्दै वर्तमान सरकारको प्रमुख प्राथमिकता निर्वाचन रहेको र युवाको चाहनाअनुरूप जबाफदेही र भ्रष्टाचारमुक्त सुशासन कायम गरिने पनि बताइन्।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारको प्राथमिकताअनुसार पूर्ण सहयोग र समर्थनको प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै प्रधानमन्त्रीले नेपाल र भारतबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धलाई बहुआयामिक जनस्तरको सम्बन्धमार्फत अझ सुदृढ बनाइराख्ने प्रतिबद्धता दोहोर्‍याए। उनीहरूले दुई देशका जनताको हितका लागि द्विपक्षीय सहयोग र साझेदारीलाई निरन्तरता दिनेबारे पनि कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।