ट्रम्पले राखे भारत, पाकिस्तान, चीनसहित २३ देशलाई ‘लागुऔषध ट्रान्जिट’ सूचीमा

ट्रम्पको निर्णयमा अफगानिस्तान, बोलिभिया, म्यान्मार, कोलम्बिया र भेनेजुएलाले विगत १२ महिनामा अन्तर्राष्ट्रिय मादक पदार्थविरोधी सम्झौताअन्तर्गतका दायित्व पूरा नगरेको र आवश्यक सुधारात्मक कदम चाल्न असफल भएको उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेसन’ मा २३ वटा देशलाई प्रमुख लागुऔषध ट्रान्जिट वा अवैध लागुऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गरेका छन्। यस सूचीमा चीन, अफगानिस्तान, भारत र पाकिस्तान पनि परेका छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकामा अवैध लागुऔषध व्यापारबाट उत्पन्न खतरालाई परास्त गर्ने दृढता व्यक्त गरेका छन्।

सूचीमा रहेका अन्य देशहरूमा बहामास, बेलिज, बोलिभिया, म्यान्मार, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी, होन्डुरस, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पनामा, पेरु र भेनेजुएला छन्।

राष्ट्रपतिले गरेको निर्णयमा अफगानिस्तान, बोलिभिया, म्यान्मार, कोलम्बिया र भेनेजुएलाले विगत १२ महिनामा अन्तर्राष्ट्रिय मादक पदार्थविरोधी सम्झौताअन्तर्गतका दायित्व पूरा नगरेको र आवश्यक सुधारात्मक कदम चाल्न असफल भएको प्रष्ट रूपमा उल्लेख गरिएको छ।

निर्णयमा भनिएको छ, “यस सूचीमा कुनै देशको उपस्थिति अनिवार्य रूपमा त्यस देशको लागुऔषध विरोधी प्रयास वा अमेरिकासँगको सहयोगको स्तरको प्रतिविम्ब होइन। भौगोलिक, व्यावसायिक र आर्थिक कारणले गर्दा लागुऔषध वा पूर्ववर्ती रसायनहरू उत्पादन वा ट्रान्जिट गर्न सहज भएका कारण पनि ती देशलाई सूचीमा राखिएको हो, चाहे त्यस देशले कडा लागुऔषध नियन्त्रण र कानुनी कार्यान्वयन गरिरहेको भए पनि।”

यसअघि, भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अन्य एजेन्सीसँग मिलेर चार महाद्वीपमा फैलिएको लागुऔषध तस्करी सिन्डिकेट ध्वस्त पारेको थियो। यो सिन्डिकेटले एन्क्रिप्टेड डिजिटल प्लेटफर्म, ड्रप सिपिङ मोडल र क्रिप्टोकरेन्सी प्रयोग गरेर लागुऔषध तस्करी गर्दै आएको थियो।

नयाँ दिल्लीको बंगाली बजारनजिकैको नियमित सवारी जाँचका क्रममा सो कार्टेलको पर्दाफास भएको थियो। त्यसपछि भारत, अमेरिका, अस्ट्रेलिया र युरोपसम्म यो आपराधिक सञ्जाल फैलिएको प्रस्ट भएको थियो। यसले एनसीबीको अन्तर्राष्ट्रियस्तरमा अवैध फार्मा नेटवर्कविरुद्ध समन्वित कारबाही गर्ने क्षमतालाई पनि देखाएको छ।

भारतस्थित अमेरिकी दूतावासले यो कारबाहीका लागि एनसीबीलाई धन्यवाद दिँदै भनेको थियो, “अवैध लागुऔषधबाट अमेरिकीहरूलाई जोगाउन र जीवन बचाउन सहयोग गरेकोमा एनसीबी र भारतीय अधिकारीहरूलाई धन्यवाद!”