परवानीपुर सबस्टेसनमा आगो लाग्दा विद्युत् आपूर्ति ठप्प

परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो।

वीरगन्ज– बाराको परवानीपुर सबस्टेसनमा बुधबार दिउँसो लागेको आगोका कारण यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ। औद्योगिक तथा व्यापारिक नगरी बारा–पर्सामा ११ केभिए क्षमताको सबस्टेसनमा आगलागी हुँदा विद्युत् आपूर्ति ठप्प भएको हो।

परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो। प्यानलमा सर्ट सर्किटका कारण आगलागी हुँदा वीरगन्ज, सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगन्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट वितरित विद्युत् आपूर्तिमा समस्या देखिएको थियो।

बुधबार वीरगन्जबाट गएको वरुणयन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइएको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए। उनका अनुसार विद्युत् सेवा पुनः नियमित सञ्चालनमा ल्याउन तत्काल प्राविधिक समस्या भइरहेको छ।

“बुधबार रातभरि काम गरेर आज विद्युत् सञ्चालनमा ल्याएका थियौँ। बिहान ९ः३० बजेपछि पुनः समस्या आएर विद्युत् आपूर्ति ठप्प जस्तै भएको छ”, उनले भने, “वीरगन्ज र बाराको पिलुवास्थित सबस्टेसनमा रहेको ब्रेकरको बुस पड्किएर थप विद्युत् आपूर्तिमा समस्या आएको छ।”

वीरगन्ज वितरण केन्द्रका प्रमुख दुवेले परवानीपुरको सबस्टेसनमा आगो लागे पनि सो ठाउँमा पनि वीरगन्जबाट विद्युत् पठाउन पर्दा क्षमताले धान्न नसकेको बताए। “अहिले वीरगन्जको सवस्टेसनबाट परवानीपुरमा विद्युत् पठाउनुपर्ने बाध्यता छ,” उनले भने।

प्रमुख दुवेले ११ केभिएबाट सञ्चालन हुने सबै उद्योगधन्दामा विद्युत् प्रवाह गर्न नसकिएको उल्लेख गरे। “यो अहिले देखिएको समस्या समाधानका लागि कम्तीमा १५ दिन लाग्ने देखिन्छ। हाम्रोतर्फबाट काम भइरहेको छ ।” पिलुवास्थित सबस्टेसनको ब्रेकर बुस मर्मतसम्भार गरेर बिजुली उपलब्ध गराउन थालिएको उनले जानकारी दिए।