संविधान दिवस मनाइँदै

नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए।

काठमाडौँ– संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन्।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो। मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान’ जारी गरेको थियो। 

२०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए। 

संविधान दिवसका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।