युक्रेनबाट २ नेपालीको उद्धार

युक्रेनबाट दुई नेपाली नागरिकको उद्धार गरिएको र उनीहरूलाई शुक्रबार दिउँसो स्वदेश फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौँ– युक्रेनबाट दुई नेपाली नागरिकको उद्धार गरिएको छ। बर्लिनस्थित नेपाली दूतावासको सक्रियतामा युक्रेनको सीमास्थित हिरासतबाट उद्धार गरिएका उनीहरूलाई शुक्रबार नेपाल फर्काइँदै छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, रौतहटका जय प्रकाश साह र बागलुङका सन्देश केसीको उद्धार गरिएको हो। “युक्रेनको सीमामा हिरासतमा रहेका दुई जना नेपाली (रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसी)लाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काइँदै छ,” विज्ञप्तिमा भनिएको छ।

उद्धारमा युक्रेनको सीमा सुरक्षा सेवा, गैरआवासीय नेपाली संघ जर्मनीलगायतका निकाय सहयोग गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित देशको अध्यागमन र कानूनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

“सम्बन्धित मुलुकको कानूनको उल्लंघन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यान समेत जोखिममा पर्नसक्ने हुन्छ,” विज्ञप्तिमा भनिएको छ, “यस प्रकार पक्राउ परेकाहरूको उद्धार प्रक्रिया पनि सहज हुने नगरेको अनुभव रहेको छ।” त्यसैले प्रलोभन वा बहकाउमा नपर्न मन्त्रालयले आग्रह गरेको छ।