'जेनजी' आन्दोलनपछि भागेका ८ हजार ३७५ कैदीबन्दी अझै फरार

'जेनजी' आन्दोलनका क्रममा विभिन्न कारागार र बालसुधारगृहबाट भागेका कैदीबन्दीमध्ये अझै ८ हजार ३७५ जना फरार रहेका छन्।

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा नेपालका २८ कारागार र ९ बालसुधारगृहबाट भागेका कैदीबन्दीमध्ये अझै ८ हजार ३७५ जना फरार रहेका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, आन्दोलनको समयमा विभिन्न कारागारबाट १३ हजार ५९१ र बालसुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए।

झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनपुरबाट कैदीबन्दी भागेका उनले बताए। 

यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बाल सुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए।

हालसम्म कारागारबाट भागेकामध्ये ५ हजार ८३८ र बालसुधारगृहबाट भागेकामध्ये ३४१ जना मात्रै फर्किएका छन्।

अझै आठ हजार ३७५ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ। नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ।

विभागका अनुसार आन्दोलनका क्रममा १० जना कैदीबन्दीको मृत्यु भएको छ। जसमध्ये रामेछाप कारागारबाट भाग्न खोज्दा ३ जना, धादिङ कारागारबाट भाग्न खोज्दा दुई र बाँकेको नौबस्ता बालसुधारगृहबाट भाग्न खोज्दा पाँच जनाको मृत्यु भएको विभागले जनाएको छ।

null