राजनीतिक संरक्षण नहुने भएपछि राजीनामा

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेको राजीनामा व्यक्तिगत कारणले भन्दा पनि परिवर्तित राजनीतिक अवस्थामा गुमेको राजनीतिक संरक्षण रहेको पाइएको छ।

काठमाडौँ– परिवर्तित राजनीतिक अवस्थामा राजनीतिक संरक्षण नपाइने भएपछि एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेको राजीनामा आएको खुलासा भएको छ। केन्द्रीय बैंकले यसअघि राजीनामा गराउन खोजे पनि अटेर गरेका उनले अहिले राजीनामा गरेका हुन्।

केन्द्रीय बैंकलाई बिहीबार ढिलो गरी न्यौपानेको राजीनामा स्वीकृत भएको जानकारी बैंकले गराएको थियो। यद्यपि, भदौ २२ गतेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

राष्ट्र बैंकसम्बद्ध भरपर्दो स्रोतका अनुसार सुपरिवेक्षणका क्रममा सञ्चालक समितिका गडबडी पुष्टि भएपछि न्यौपानेलाई बैंकबाट अलग हुन भनिएको थियो। न्यौपानेले भने सञ्चालक समितिबाट राजीनामा स्वीकृत नभएको भन्दै आलटाल गर्दै आएका थिए। “नयाँ सरकार गठनसँगै राजीनामा आएको हो,” बैंकको उच्चपदमा रहेको स्रोतले भन्यो।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार, वाणिज्य बैंक (क वर्ग)मध्येमै सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एशिया छ।

सीईओ नाम मात्रको भएको भनिने बैंकमा सबै कामकारबाही सञ्चालक समितिले नै गर्ने गर्छ। सुपरिवेक्षणका क्रममा बैंकका सञ्चालकहरूले आफैले सस्तो ब्याजदर (औसत ६ प्रतिशत)मा ऋण लिनुका साथै परिवारका सदस्य, नातागोता आदिको नामबाट पनि सोही ब्याजदरमा ऋण लिएको फेला परेको थियो।

सञ्चालकहरूले नै ७० करोड हाराहारीमा सस्तो ब्याजमा कर्जा लिएका थिए भने तिनका परिवार, नातागोतासमेतका जोड्दा यो अंक निकै माथि रहेको भेटिएको थियो। तत्पश्चात् राष्ट्र बैंकले त्यस्तो ऋण तत्काल असुलउपर गराउन निर्देशन दिएको थियो। 

राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले सुपरिवेक्षण विभागले यसअघि पटक–पटक नसिहत, सचेत गराइसकेकाले राजीनामा स्वभाविकै ठानेको बताए। राजीनामा केन्द्रीय बैंकको एक्सनअन्तर्गत भएको आफूलाई जानकारी नभएको उनले जनाए। “कार्यकाल पनि सकिन लाग्यो,” प्रवक्ताले भने,  “उहाँले छोड्ने रे भनेर छलफलमा सुनिएको हो।”

एनआईसी एशिया सीईओलाई कर्जा दिने कुनै अधिकार नभएको बैंकको रूपमा चिनिन्छ। सबै सञ्चालक समितिले नै निर्णय गर्छ। बैंक स्रोतका अनुसार सञ्चालक समितिका सदस्यहरू बैंकमा सीईओभन्दा बढी समय बिताउँछन्।

बैंकले धितोको सम्पत्तिमा आँखा लगाएर लिलामको सूचना निकालेको उजुरीहरू पनि पर्थे। यस्तै, ‘रिकभरी’का कर्मचारीहरूले राति बैंकमै सुतेर बिहान ४ बजेदेखि राति अबेरसम्म काम गर्न परेको गुनासो हरेक त्रैमासिक ‘क्लोजिङ’का बेला गर्ने गर्थे।  

स्रोतका अनुसार केन्द्रीय बैंक सञ्चालक समितिलाई पनि कारबाही गर्ने तयारी छ। “अहिलेलाई सांकेतिक रूपमा पाँच लाख रुपैयाँ मात्र जरिबाना गर्ने तयारी छ,” उच्चपदस्थ स्रोतले भन्यो। जटिल राजनीतिक/आर्थिक परिस्थितिमा अधिकतम कारबाहीमा जाँदा वित्तीय प्रणाली नै हल्लिन सक्ने भएकाले पनि नरम कारबाहीमार्फत सुध्रिन दबाब दिने रणनीतिमा राष्ट्र बैंक छ।

एनआईसी एशियापछि कम्तिमा दुई वाणिज्य बैंक कारबाहीमा पर्ने निश्चित भएको स्रोतले बताएको छ। 

२०७९ कात्तिकमा दोस्रो पटक सीईओ भएका न्यौपानेको कार्यकाल एक वर्ष बाँकी थियो। अहिलेलाई नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायममुकायम तोकिएको छ।

न्यौपानेले भने पारिवारिक कारणले एनआईसी एशियाबाट राजीनामा दिएको जिकिर गरे। “मेरो श्रीमतीलाई ६ महिना बेड रेस्ट भनेको छ,  मेरो आफ्नै पनि सर्जरी गरेको हो,” उनले भने, “लामो बिदा बस्नुपर्ने भएपछि राजीनामा गरेको हुँ।”

आफ्नो राजीनामामा ‘राष्ट्र बैंकको कुनै भूमिका छैन’ भन्ने दाबी उनले गरे। सन् २००८ मा तत्कालीन एनआईसी बैंकबाटै करिअर शुरू गरेका उनी १० वर्षमै नेतृत्वमा पुगेका थिए। 

आठ वर्ष नेतृत्व तहमा रहँदा बैंकलाई शाखा विस्तार गरेर दूरदराजसम्म पहुँच पुर्‍याएको, डिजिटल बैकिङमा फड्को मारेको दाबी उनले गरे।

“धेरै शाखा, धेरै एटीएम खोलेर टोलटोलमा बैंक हातहातमा बैंक पुर्‍याउने रणनीति थियो,” उनले भने, “९२ प्रतिशत काम डिजिटल माध्यमबाट हुन्छ, जुन ग्लोबल स्ट्र्याण्डडभन्दा राम्रो हो।”

खस्केको वित्तीय अवस्था
गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको खुद नाफा अघिल्लो वर्षको भन्दा ४३ प्रतिशतले बढ्दा एनआईसी एसिया बैंक पुछारमा रह्यो।

आर्थिक वर्ष २०८०/८१ मा ७० करोड रुपैयाँ खुद नाफा रहेकोमा गत आर्थिक वर्ष १६ करोड रुपैयाँमा खुम्चिएको छ।

गत आर्थिक वर्ष कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ)मा बैंकले चार अर्ब १४ करोड राख्न परेको थियो। अघिल्लो आर्थिक वर्ष भने तीन अर्ब ८० करोड रुपैयाँ थियो।

नाफा घटेपछि बैंकको वितरणयोग्य नाफा पनि पाँच अर्ब २१ करोड रुपैयाँले ऋणात्मक छ। बैंकले लाभांश दिन सक्ने अवस्था छैन। खराब कर्जा पनि ३.४५ प्रतिशतबाट बढेर ६.२८ प्रतिशत पुगेको वित्तीय विवरणमा देखिन्छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनका प्रावधान उल्लंघन गरेपछि बैंकलाई गत आर्थिक वर्षमै राष्ट्र बैंकले दुईचोटि कारबाही गरेको थियो। त्यसअघिको आर्थिक वर्षमा पनि बैंक कारबाहीमा परेको थियो। घरजग्गा क्षेत्र र साना तथा मझौला उद्योगहरू समस्याग्रस्त देखिँदा समयमै ऋण उठ्न नसकेको निवर्तमान सीईओ न्यौपानेले बताए।