घट्यो बजारमा अलैँचीको भाउ, प्रतिमन ९२ हजारसम्ममा कारोबार

दशेँको संघारमा नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ। हाल अलैँची प्रतिमन (४० किलो) ८१ हजारदेखि ९२ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

घट्यो बजारमा अलैँचीको भाउ, प्रतिमन ९२ हजारसम्ममा कारोबार
फाइल तस्वीर

झापा– नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ। नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार ८१ हजारदेखि ९२ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको बताए। 

सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ। उनका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन ९२ हजार रुपैयाँ रहेको छ। सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ। जसको भाउ प्रतिमन ८१ हजार रुपैयाँ रहेको छ।

मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन ८४ हजार रुपैयाँ रहेको अध्यक्ष नेपालले जानकारी दिए। भदौ पहिलो साता अलैँचीको बजार मूल्य अकासिएको थियो। उस बेला प्रतिमन ९४ हजार रुपैयाँसम्ममा अलैँची खरिद–बिक्री भएको थियो।

दशैँको संघारमा किसानले घरायसी गर्जो टार्नका लागि सानो मात्रामा अलैँची बजारमा बिक्री गर्न थालेको र अहिले लेकाली अलैँची धमाधम सुकाउने कार्य भइरहेको हुँदा बजारमा अझै धेरै अलैँची आउन बाँकी नै रहेको अध्यक्ष नेपालले बताए। 

नेपालको ४२ जिल्लामा अलैँचीखेती हुने गरेको छ। कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा अलैँची अत्यधिक खेती हुँदै आएको छ। अलैँची व्यवसायी महासंघका अनुसार कोशी प्रदेशको सात हजार ५०० हेक्टर र मुलुकभर १७ हजार हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुन्छ। नेपालमा यसको कुल उत्पादन आठ हजार मेट्रिक टनसम्म छ। उत्पादनको पाँच प्रतिशत मात्र घरेलु खपत भएकाले ९५ प्रतिशत उत्पादन विदेश निकासी हुँदै आएको छ।

आर्थिक वर्ष २०८१/८२ मा पूर्वी नाका काँकडभिट्टा भएर सात अर्ब ६७ करोड रुपैयाँको नेपाली अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ।