‘जेनजी’ आन्दोलनले निम्त्याएको राजनीतिक संकटलाई आम सहमतिले समाधान दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अहिलेको मुख्य कार्यभार ६ महिनाभित्र चुनाव सम्पन्न गराई जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नु रहेको बताए।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सम्पूर्ण नागरिकलाई आपसी द्वन्द्व र असहमतिका भावनालाई त्यागेर ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने कार्यमा एकजुट हुन आह्वान गरेका छन्।
संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले हालैको राजनीतिक संकटलाई ‘आम सहमति’बाट निकास दिइएको बताए। “प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझ्नुपर्छ,” राष्ट्रपति पौडेलले भने।
उनले अन्तरिम सरकारको मुख्य कार्यभार राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नु रहेको स्पष्ट पारे। “यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो,” उनले भने।
राष्ट्रपति पौडेलले हालैको ‘जेनजी’ आन्दोलनले उठाएको भ्रष्टाचार र बेथितिको अन्त्यको मागलाई सबैले मनन गर्न र सुध्रिएर अघि बढ्ने अठोट गर्न आग्रह गरे। उनले आफू पनि १७ वर्षको कलिलो उमेरमै प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गर्दै हरेक पुस्ताको सहभागिताले लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको उल्लेख गर्दै यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए। उनले लोकतन्त्र, सुशासन र नैतिक राजनीतिप्रति प्रतिबद्ध रहन सबैलाई संकल्प गर्न आह्वान गर्दै भने, “हाम्रो संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाउँदै नेपाली नागरिकले देखेका सपना पूरा गर्ने नयाँ यात्रामा अघि बढ्न सकौँ।”
उनले यस कठिन परिस्थितिमा मित्र राष्ट्रहरूको निरन्तर सहयोग र सद्भावको अपेक्षा पनि गरे।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।
साथै, पूर्वराष्ट्रपतिहरू डा. रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड', झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई लगायत संवैधानिक निकायका प्रमुख, सुरक्षा प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि र 'जेनजी' पुस्ताका प्रतिनिधिहरूको पनि सहभागिता थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
