‘जेनजी’ आन्दोलनमा ६२९ भवन पूर्ण रूपमा क्षतिग्रस्त

भदौ २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ वटा भवनमा पूर्ण रूपमा क्षति भएको छ।

काठमाडौँ– जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवनमा पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ।

आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति भएको नेपाल प्रहरीले प्रारम्भिक विवरण संकलन गरेको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार उक्त आन्दोलनमा नेपाल प्रहरीका मात्रै १७७ वटा भवन पूर्णरूपमा क्षति भएको छ। प्रहरीका २५८ वटा भवनमा आंशिक क्षति भएको प्रवक्ता घिमिरेले बताए। उनका अनुसार तोडफोड र आगजनीबाट ३१० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ । प्रारम्भिक विवरणमा कूल आठ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ। 

यस्तै ९७ वटा व्यापारिक तथा निजी भवन पूर्णरूपमा क्षति भएको र २९२  वटा व्यापारिक तथा निजी भवनमा आंशिक रूपमा क्षति पुगेको छ। यस्तै विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्ण क्षति भएको छ भने १७४ वटा कार्यालयमा आंशिक क्षति भएको प्रहरीले संकलन गरेको विवरणमा उल्लेख रहेको प्रवक्ता घिमिरेले बताए।

मूल्यांकन भने अझै भइनसकेको र क्षतिको विवरण संकलनको क्रम भने जारी रहेको उनले बताए।