बागमती प्रदेशमा सरकार गठनको तयारी, ४ दिनभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

११० सदस्य रहेको बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन चाहिन्छ। 

हेटौँडा– बागमती प्रदेश प्रमुखकाे कार्यालयले सरकार गठनको तयारी थालेको छ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्। संविधानको धारा १६८ उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि प्रदेश प्रमुख शर्माले उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।

उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिएको हो। ११० सदस्य रहेको बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन्।

सरकार गठनका लागि ५६ जना सांसदको समर्थन चाहिन्छ।