झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गरेका थिए। परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न हुने भयो, न त बाबुआमालाई झापा लैजाने कुरा नै।
पाँचथर– वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा नेपाल फर्किएका हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी गाउँ आइपुगेकै थिएनन्। श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले झापामै बसेर बिर्तामोड नगरपालिका–१० बिराटपोखरीमा घर बनाइरहेका थिए।
भदौ तेश्रो साता फोनमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दशैँसम्ममा घरको भुइँ तलाको काम सक्ने बताएका थिए। “दशैँमा यहाँको घर सिँगार्न आइपुग्छु भन्थ्यो,” गणेशले भने, “तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो।” गणेशलाई देशका मुख्य शहरमा जेनजीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको थाहा नै थिएन।
घर निर्माण गरिरहेका कमल जेनजी आन्दोलन चर्किएको समयमा भदौ २४ गते साँझ आन्दोलनमा सहभागी हुन बिर्तामोड गएका थिए। कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिन। एकैछिन आन्दोलनमा गएर आउँछु’ भनेर कमल गाउँका अन्य साथीसँग बिर्तामोड लागेका थिए।
रात पर्दै गए पनि कमलको फोन उठेन। श्रीमती सीता, बहिनी मायालगायतले रातैभरी मोबाइलमा फोन गरे। फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशंका पसिसकेको थियो। बहिनी मायाका अनुसार गत भदौ २५ गते बिहान १० बजे कमलको फोन बीएन्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए।
सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ। आएर लिएर जानु’ भने। “हामीलाई केही थाहा नै भएन। हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्,” मायाले भनिन्, “दाजुसँगै आन्दोलनमा आएका अरू कसैले पनि हामीलाई जानकारी गराएनन्। हामीले त चिन्ने कुरै भएन। त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ।”
आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो। घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर अस्पताल पुर्याएका थिए।
कमलका परिवारजनले भोलिपल्ट मात्रै उहाँ भेन्टिलेटरमा भएको जानकारी पाए। “दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन। भाउजू बेहोस हुनुहुन्थ्यो,” बहिनी मायाले भनिन, “चिकित्सकले गोली निकाल्न सकेनौँ। आफन्त पनि आउनु भएन भन्नुभयो। हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म। तर त्यतिन्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ।”
कमलको शवलाई भदौ २८ गते अमरपुर ल्याई दाहसंस्कार गरेपश्चात् काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बसेका छन्। ५७ वर्षका बाबु गणेश आफै बिरामले थलिएका छन्। बिरामी आमा खगमायाले राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ।
बिरामी बाबु गणेशका गला अवरुद्ध छन्। गर्भवती श्रीमती सीता अझैसम्म अर्धचेत छन्। सिकुवामा ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर ३० वर्षीय छोराको तस्वीर राखिएको छ। आफन्त र छरछिमेकी घरभरि छन्। तर गणेशलाई न निन्द्रा लागेको छ न भोकप्यास।
झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गरेका थिए। परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न भयो न त बाबुआमालाई झापा लैजाने कुरा नै। “हामीलाई पनि घर बनाइ सकेर झापा नै लैजाने भन्दै थियो। तर खोइ आज के आइलाग्यो,” भक्कानिँदै बाबु गणेशले भने।
दशैँको मुखका परिवार र सिंगो गाउँ शोकमा डुबेको छ। कमलको आठ वर्ष खाडीमै बितिसकेको थियो। खाडीमा गरेको परिश्रमले झापामा जग्गा खरिद गरेर घर बनाउने क्रममा निधन भएपछि भण्डारी परिवारमाथि बज्रपात परेको छ। “यिनीहरूको भविष्य के होला भन्ने हामीलाई ठूलो चिन्ता छ,” काका शान्तिरामले भने।
परिवारलाई भेट्न जनप्रतिनिधि, राजनीतिक दलका नेता र आन्दोलनका अगुवा आइपुगेका छैनन्। “हामीलाई भेट्न वडाध्यक्षसमेत आउनुभएको छैन,” बहिनी मायाले भनिन्, “देशमा परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ बित्दा कसैले वास्ता पनि गर्नुभएन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
