बजेट अभावमा अलपत्र निसीखोला आधारभूत अस्पताल

निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल बजेट नहुँदा अलपत्र परेको छ। बजेट नभएको बताउँदै ठेकेदारले काम गरेका छैनन्।

ढोरपाटन– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल भवन बजेट अभावमा अलपत्र परेको छ। 

२०८० सालमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो। निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघ २० गते सम्झौता भएको थियो।

८ करोड २४ लाख रुपैयाँमा निर्माण शुरू भएको थियो। हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबी कन्स्ट्रक्सन प्रमुख दीपककुमार अदैले जनाकारी दिए। बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उनको भनाइ छ। 

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको १ करोड १० लाखसहित थप ६० लाख रुपैयाँ व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनको भनाइ छ। 

“यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत् जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो,” उनले भने। निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले १ करोड ५० लाख रुपैयाँ संघीय सरकारबाट नआउँदा काम अलपत्र परेको बताए। 

संघीय सरकारअन्तर्गतको योजना रहेको हुँदा पालिकाले बजेट हाल्न नमिल्ने उनको भनाइ छ। बजेट व्यवस्थापनका लागि स्वास्थ्य र अर्थ मन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको पुनमगरले बताए।