गाजामा इजरायली आक्रमण जारी, महिला र बालबालिका संकटमा

विस्थापित परिवारलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ। गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ।

गाजामा इजरायली आक्रमण जारी, महिला र बालबालिका संकटमा
एएफपी

गाजा शहरमा जारी आक्रमणका कारण हजारौँ नागरिक ज्यान जोगाउन सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओछा) का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन्। बालबालिका, वृद्ध, महिलालगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन्।

आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकको संख्या तीव्र रूपमा बढिरहेको छ। धेरैजसो मानिस गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन्। यात्रामा उनीहरूलाई न त पिउने पानी, न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ।

“हाम्राका सहकर्मीहरूले रातभरि हिँडेर आइपुगेका थकित, भोकाएका र पीडामा परेका नागरिक देखेका छन्,” ओछाले उल्लेख गरेको छ, “अल–राशिद सडकमा गाडी, टेम्पो र पैदलयात्रीको अत्यधिक चाप छ। सबैजना सम्भावित जोखिमबाट बच्न दक्षिणतर्फ गइरहेका छन्।”

यद्यपि इजरायली पक्षले सलाह अद–दिन सडक प्रयोग गर्न आग्रह गरेको थियो, सो सडक हाल सवारीसाधनका लागि सञ्चालनमा छैन। अल–राशिद सडक नै अहिले खुला मार्गको रूपमा प्रयोग भइरहेको छ।

खान युनिस क्षेत्रमा ओछा नेतृत्वको टोलीले विस्थापित परिवारको अवस्था बुझ्दा उनीहरूलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ। गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ।

संयुक्त राष्ट्र बालकोष (युनिसेफ)ले बिहीबार गाजा शहरमा कुपोषित बालबालिकाका लागि ल्याइएको विशेष पोषण सामग्री लुटिएको थियो। ती सामग्रीले झन्डै दुई हजार ७०० बालबालिकालाई उपचारमा सहयोग पुग्थ्यो। युनिसेफले यस्तो दुर्भाग्यपूर्ण घटनाबाट गम्भीर पीडा भएको जनाउँदै, दीर्घकालीन युद्धविराम अत्यावश्यक भएको स्पष्ट पारेको छ। (रासस/सिन्ह्वा)