२३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

उद्योग विभागले सार्वजनिक गरेको साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको भदौसम्म २३६ परियोजनाका लागि ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागले सार्वजनिक गरेको साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो।

विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना संख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ। कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। 

त्यस्तै, उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा १ अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा २ अर्ब ८१ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा ६ अर्ब ६९ करोड २० लाख ५० हजार सूचना प्रविधिमूलक उद्योगका १२० परियोजनामा ५६ करोड २७ लाख ५४ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

त्यस्तै, पछिल्लो दुई महिनामा मात्र ४०९ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित (डिपेन्डेन्ट) लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ।

उद्योग विभागले हालसम्म कुल सात हजार ४७५ वटा परियोजनाका लागि ६ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार रुपैयाँ बराबरको लगानी स्वीकृत गरिसकेको छ।