ठेकेदारको लापरबाहीले मार्तडी–कोल्टी सडकको बिजोग

असारदेखि अवरुद्ध मार्तडी–कोल्टी सडक असोज पहिलो सातासम्म पनि सञ्चालनमा आउन सकेको छैन। मर्मतमा कुनै निकायले चासो देखाएका छैनन्।

ठेकेदारको लापरबाहीले मार्तडी–कोल्टी सडकको बिजोग
नेपाल न्युज बैंक

बाजुरा– बाजुराको मार्तडी–कोल्टी सडकको अवस्था बिजोग छ। असारदेखि अवरुद्ध उक्त सडकखण्ड असोज पहिलो सातासम्म पनि सञ्चालनमा आउन सकेको छैन। 

सडक अवरुद्ध हुँदा स्थानीयले आवजजावत गर्दा सास्ती खेपिरहेको बडीमालिका नगरपालिका–७ का हरिचन्द्र पाध्यायले बताए। “अहिले दशैँ–तिहारमा घर आउनेहरू बढेका छन्। तर सडक अवरुद्ध हुँदा यात्रा गर्न निकै कठिन भइरहेको छ,” उनले भने। 

मार्तडी–कोल्टी सडकले माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तह, हिमाली, स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दालाई जोड्छ। छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोटका नागरिकसमेत यही सडकबाट आउजाउ गर्ने गर्छन्। 

मार्तडीदेखि कोल्टीसम्म पुग्न ६ गाडी फेर्नुपर्ने अवस्था रहेको जगन्नाथ गाउँपालिका हुनीका सुरेन्द्र विष्टले बताए। यसले स्याउ ढुवानीमा पनि समस्या भएको छ। सडक बन्द हुँदा बारीमै स्याउ कुहिने अवस्था रहेको पाण्डुसैनकी स्याउ कृषक विउरा बोहराले बताइन्। पिठ्युँमा बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

दशैँ–तिहार अगावै सडक सञ्चालन गर्ने भनिए पनि नसकिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले बताए। ठूलो पहिरो गएकोले तत्काल हटाउन नसक्दा सम्भव नभएको उनको भनाइ छ। “प्रशासनको तर्फबाट सडक सञ्चालनका लागी समन्वय, सहकार्य तथा पहल भइरहेको छ,” उनले भने। 

ठेकेदारको लापरबाहीले मार्तडी–कोल्टी सडक कालोपत्रे हुन सकेको छैन। सदरमुकाम मार्तडीदेखि कोल्टीको दूरी ४२ किलोमिटर छ। मार्तडीदेखि खार चुथीसम्म ९ किलोमिटर र खारदेखि ढम्कनेसम्म ६ किलोमिटर रहेको छ। 

जिल्ली,रजातोलीलगायत आधा दर्जन स्थानमा पहिरोले सडक पुरेको छ। बाउली, रजातेली, दानासाँघु खोलामा पुल बन्न सकेका छैनन्।