यो वर्ष अर्थात् सन् २०२५ को विजयादशमी अमेरिका-क्यानडामा अक्टोबर १ बुधबार र नेपाल वा भारतमा अक्टोबर २ बिहीबार परेको छ।
हिन्दू सभ्यतामा पर्व/उत्सव केवल ‘मिति’मात्र होइनन्, खगोलीय क्षणसँगको नियमित भेटको आकस्मिक क्षण हो। त्यो क्षणलाई पञ्चाङ्गको भाषामा तिथि भनिन्छ। व्रत–उपवास, पूजा–अर्चना, संस्कार–समारोह, कृषि–ताल र जन्म मृत्युलगायत सामुदायिक जीवनका दर्जनौँ निर्णय तिथिमा टेकेर गरिन्छन्।
यिनै कारणले दशैँ–तिहारदेखि रक्षा बन्धन, जनै पूर्णिमा, जन्माष्टमी, महाशिवरात्रि र तीजजस्ता पर्व वर्षैपिच्छे विभिन्न महिनामा सर्दै–घट्दै गरेका देखिन्छन्। नेपालमा एउटा बार मनाइएको कतिपय चाडबाड अर्को गोलार्द्धमा (विशेषतः अमेरिका र क्यानडा) मा कहिलेकाहीँ अर्को बार पनि पर्न सक्छ। किन नेपालमा बुधबार परेको पर्व अमेरिका र क्यानडामा मंगलबार वा बुधबार पनि पर्छ? यसको मूल–उत्तर तिथिको खगोलीय परिभाषा, उदय–नियम (सनराइज रूल) र समय क्षेत्रको विज्ञानमा आधारित छ।
नेपालको भूगोललाई मात्र आधार मानेर हेर्ने हो भने पनि खगोलीय पिण्डहरू अर्थात् ग्रह-नक्षत्र, पिण्ड आदिको गणनाका आधारमा तय गरिएका तिथि, दिन, गते वा बारको समय नेपालकै पूर्वी सरहद र पश्चिम सरहदको समयमा पनि आधा घण्टाको फरक छ। काठमाडौँलाई केन्द्रमा राखेर हिन्दू समुदाय बसोबास रहेका विश्वका १० बटा देशलाई हेर्ने हो भने पूर्वमा मलेसिया, बर्मा, भुटान र भारतकै पूर्वोत्तर आसामको समय पनि १ घण्टादेखि २ घण्टासम्म फरक पर्छ भने पश्चिमी गोलार्द्ध (अमेरिका-क्यानडा) मा १२ घण्टासम्मको र जुन साल नेपालमा बिहान दशमीको टीकाको साइत शुरू हुन्छ, त्यो साल नेपालको बेलुका तर अमेरिका भने पछिल्लो दिनको तर त्यही बारको बिहान दशमी तिथि र साइत हुनसक्छ।
यस्तो हुँदा नेपालमा मनाएपछि अमेरिकामा मनाएजस्तो देखिएको हो। तर कहिलेकाहीँ दशमी तिथि नेपालमा बेलुका शुरू भयो भने अमेरिकामा त्यो स्वतः बिहानको समय हुन्छ। अमेरिकामा आजको बिहान शुरू भएको तिथि नेपालको अर्को दिनको बिहानपछि मनाउने हो भने त्यो अर्को दिनको बिहान अमेरिकामा अर्कै तिथि शुरू भइसकेको हुन्छ भने नेपालमा पनि त्यो तिथि अर्थात् दशमी बाँकी रहँदैन। अन्य चाडबाड-तिथि आदिको सन्दर्भ पनि यस्तै हो।
विश्वको कूल जनसङ्ख्यामा करिब १५ प्रतिशत मानिस हिन्दू धर्मावलम्बी छन्। कूल हिन्दूमध्ये ९४ प्रतिशत भारतमा मात्र छन् भने तीन प्रतिशत नेपालमा र करिब ३ प्रतिशत बाँकी विश्वमा छन्। महत्त्वपूर्ण के छ भने ज्योतिषीय गणनाका आधारमा तय गरिएका दिन, गते, बार र तिथि आदिको सन्दर्भ सम्पूर्ण ब्रह्माण्डकै खगोलीय गणना हो। चन्द्रोदय, सूर्योदय, तारा, नक्षत्र आदिको गणना क्षेत्रीय, पूर्वीय वा महादेशीय, स्थानीय रूपमा गरिएका गणना होइनन्।
हामीले हिन्दू परम्पराअनुसार तिथिका आधारमा मनाउने चाडपर्वका लागि गणना गरिने पात्रो वा क्यालेन्डर आज पनि भारतीय शहर बनारसबाट प्रकाशित भएर हाम्रो घरघरमा आइपुगेका हुन्। यी पात्रोले खगोल-भूगोलले हाम्रा मूल घरको दैलोमा टीका जमरा लगाएको वा बली दिए नदिएको जान्दैनन्, किनकि यसमा भूगोलको र सूर्योदय-चन्द्रोदयको गणनाका आधारमा तिथि र साइत आदिको यकिन गरिएको हुन्छ।
हाम्रा चाडबाड र सामाजिक प्रचलन सामाजिक सद्भाव, मित्रता र आपसी समन्वय विस्तारका पनि मानक मानिन्छन्। नेपालबाहिर विस्तार हुँदै गएको नेपाली समुदायले यसलाई विश्वव्यापी गराउँदै नेपाली मौलिक पहिचानको आधार पनि बनाएका छन्, तर केही वर्षयता यस्ता कतिपय चाडबाड नेपाल र नेपाल बाहिरका महादेश/गोलार्द्धमा कहिले मनाउने भन्ने सम्बन्धमा अलमल वा विरोधाभासका कारण सामाजिक विवाद र विभाजनको अवस्था पनि सिर्जना गरेको छ।
सामान्यतः एउटै महादेशीय गोलार्द्धमा यस्ता चाडबाडमा एकाध घण्टा फरक परे पनि एकै दिनमा मनाउन सकिन्छ तर विपरीत ध्रुव वा अर्को महादेशीय गोलार्द्धमा भने एक दिन पूरै फरक पर्ने भएकाले अघिल्लो वा पछिल्लो दिन मनाउनु पर्ने हुन्छ, तर सधैँ वा सबै वर्ष यस्तो हुँदैन। सन् २०१९ र २०२३ मा नेपालमा भन्दा अमेरिकामा पहिले विजया दशमीको तिथि परेको थियो। यो वर्ष पनि आगामी अक्टोबर १ तारिख बुधबार अमेरिकामा विजया दशमीको तिथि परेको छ भने नेपालमा बिहीबार २ तारिख परेको छ।
दशैँमा मात्र नभएर अन्य पर्वमा पनि यस्तो पर्ने गरेको छ। यो सालको रक्षाबन्धन अमेरिकामा गत अगस्ट ८ तारिख परेको थियो भने पूर्वी अमेरिकाको नेपाली समुदायले ९ तारिखमा पर्व मनाए, जबकि स्थानीय सामाजिक संस्थाको आँगनमा आफ्ना जजमानहरूलाई रक्षाबन्धन धारण गराइदिने पुरोहितहरूले भने यसै पर्वमा अमेरिका भ्रमणमा रहेका अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष डा. माधव भट्टराईका हातबाट शुक्रबार नै विधिपूर्वक तोकिएको तिथिको साइत छोपेर रक्षा बन्धन ग्रहण गरेका थिए। यस्तै अवस्था तिजको व्रतमा पनि दोहोरिएको थियो भने शनिवार परेकोले कृष्ण जन्माष्टमीमा चाहिँ यो समस्या देखिएन।
समाजलाई जोड्ने र आपसी मित्रता बढाउने चाडबाडले नेपाल बाहिरका नेपालीमा झनै महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हो। यसको मानकलाई आधार मानेर स्थानीय समुदायमा यस्ता पर्वहरूलाई स्थानीय क्यालेन्डरमा स्थापित गर्ने, सार्वजनिक बिदाका लागि प्रयास गर्ने र नेपाल बाहिरका यस पर्व मनाउने नेपाली बाहेकका अन्य समुदायहरूसँग पनि समन्वय गर्नुपर्नेमा आफ्नै सानो समुदायबीच विवाद तथा विभाजन ल्याउनु राम्रो हुँदैन। यसले दिने सन्देशले सामाजिक एकता र सद्भाव मात्र नबढाउने होइन, आफ्नै समुदायलाई कमजोर बनाउँछ। व्यक्तिका निजी समस्या र बाध्यता फरक हुन सक्छन्, तर संस्थागत प्रयासमा हुने कार्यक्रमहरूको तालिका भने सर्वमान्य र वैज्ञानिक मान्यतामा आधारित हुनुपर्छ। वार्षिक कार्यक्रमका रूपमा नयाँ वर्षको क्यालेन्डर र पात्रोसँगै पर्वहरू सार्वजनिक गरिनुपर्छ।
नेपालीहरू भन्दा अलि पहिलेदेखि नै आएर बसोबास गरेका हुनाले भारतीय मूलका मानिसले संसारभर प्रायजसो हिन्दू मन्दिरहरूमा स्थानीय भूगोलअनुरूप अक्षांश -देशान्तर गणना गरी बनाइएको पञ्चाङ्ग अनुसारको तिथि हेरेर हिन्दू व्रत/पर्वहरू मनाउन थालिसकेका छन्। र, लगभग त्यसमा एकरूपता आइसकेको अनुभव गर्न सकिन्छ। तर नेपालीहरूको विदेश आउने क्रम अलि पछि शुरू भएकोले यसमा अझै विभिन्न झिनामसिना पारिवारिक र व्यक्तिगत तर्क-आधारित विवादहरू सतहमा देखिएका छन्। यसलाई एकरूपता दिन र विज्ञान-विधिसम्मत गर्न सामाजिक संघ संस्थाहरूको अग्रसरता आवश्यक छ।
हाम्रो जीवन यति गतिशील छ कि हामी पृथ्वीरूपी एउटा विशाल अन्तरिक्षयान (स्पेससिप) मा जन्मदेखि मृत्यु पर्यन्त खगोलीय धरातलहरूको अवलोकन गर्दै यस ब्रह्माण्डमा हरेक घण्टामा १ लाख किलो मिटरका दरले हामी विचरण गरिरहेका छौं। यो धर्तीको जहाज निरन्तर सूर्य वरिपरि घुमिरहेको छ। हामी सबै यात्रु हौँ, तर हाम्रो समय ताल, जीवनको ताल र संस्कारहरू यस जहाजको खगोलीय तालसँगै धड्किरहेका छन्। यदि पृथ्वीलाई यात्रु बोकेर सुनसान अँध्यारोमा हिँडिराखेको पानी जहाज मान्ने हो भने चन्द्रमा अलि पर क्षितिजमा देखिएको जहाजको गतिको आकलन गराइदिने लाइट हाउसजस्तै हो भनेर कल्पना गर्न सकिन्छ।
यस्तै कल्पनाका आधारमा पूर्वज ऋषिहरूले त्यही पृथ्वीबाट देखिने चन्द्रमाको उज्यालो र अँध्यारो खण्डको अनुपातको मानलाई आधार मानेर ‘चन्द्रमा मनासोस् जात’ (चन्द्रमा मनबाट उत्पन्न भएको हो) भन्दै त्यसैलाई गणना गर्दै आफ्नो कामकाजी र पूजाआजा र पर्व मान्ने परम्पराको शुरूआत गरे। त्यही गणनाको आधार स्तम्भ नै तिथि हो। यही कारणले नै हाम्रो पूर्वीय संस्कृति र सांसारिक जीवनमा तिथिको स्थान अत्यन्त महत्त्वपूर्ण रहन गएको हो।
यस लेखमा तिथि के हो, यसको इतिहास, हिन्दू पर्वका मूलमा तिथि–चन्द्र–पात्रो किन निर्णायक हो र पश्चिमी गोलार्ध र उत्तर अमेरिकामा पर्व पर्ने बार किन फरक पर्न सक्छ, यी सबै पक्षलाई व्यवस्थित, व्यावहारिक र स्पष्ट तरिकाले प्रस्तुत गर्ने प्रयास गरिएको छ।
१. तिथि (खगोलीय परिभाषादेखि दैनिक अर्थसम्म)
तिथि भन्नु चन्द्र–दिन हो। सूर्य र चन्द्रमा बीचको दीर्घांशीय कोण १२ डिग्रीले बढ्न लिएको समय यसको खगोलीय परिभाषा हो। एक चन्द्र–मासमा ३६० डिग्री र १२ डिग्री बराबर ३० तिथि हुन्छ। यी ३० तिथि शुक्ल पक्ष (अमावस्यादेखि पूर्णिमा) र कृष्ण पक्ष (पूर्णिमादेखि अमावस्या) गरी दुई भागमा विभाजन हुन्छन्। तिथिको लम्बाइ स्थिर २४ घण्टा हुँदैन, चन्द्रमा अण्डाकार कक्षमा कहिले छिटो त कहिले बिस्तारै सर्छ। त्यसैले १२ डिग्री कभर गर्न लाग्ने समय बदलिन्छ र तिथि करिब १९ देखि २६ घण्टाबीच स्वाभाविक रूपमा फरक–फरक हुन्छ।
यसो हुँदा दिनको कुनै पनि बेला तिथि शुरू वा अन्त्य हुन सक्छ। राती १:०५, बिहान ७:२२, दिउँसो ३:४० वा साँझ ६:१८, जति बेला सूर्य–चन्द्र कोणले अर्को १२ डिग्री थ्रेसहोल्ड पार गर्छ, त्यति बेला तिथि बदलिन्छ।
पञ्चाङ्गका पाँच अङ्ग हुन्–तिथि, वार, नक्षत्र, योग र करण। व्रत र पर्वको मूल निर्धारक तिथि नै हो। वार (सोम–मङ्गल…) हाम्रो कामकाजी ताल हो। तिथि भने खगोलीय ऊर्जा–ताल हो, जसलाई वैदिक संस्कार-सनातन उत्सवले आत्मसात् गरेको छ।
२. ऐतिहासिक पृष्ठभूमि: गणनाबाट उभिएको संस्कृति
वैदिक युगदेखि नै समय (काल) लाई पवित्र र विज्ञान संगत दुवै रूपमा बुझिएको छ। (वेदाङ्ग–ज्योतिष र प्राचीन खगोलीय ग्रन्थहरूले सूर्य–चन्द्र गणनाबाट यज्ञ, व्रत, संस्कार, राजकीय कामकाज र कृषि कर्महरू निर्धारण गरेका छन्।
(सूर्य सिद्धान्तजस्ता ग्रन्थमा तिथि, मास, संवत्सर र ऋतुका गणितीय आधार प्रस्तुत छन्। पुरानो समाजमा तिथि केवल मन्दिरको घण्टी बजाउने सूचक थिएन, पसल खोल्ने साइत, यात्रा–व्यापारको घडी, बाली रोप्ने र कटाउने तालसमेत तिथिसँग मेल थिए। यसरी, तिथि खालि अंकगणित होइन, गणनाबाट बनेको सांस्कृतिक संस्था हो।
३. चन्द्र–सौर पात्रो किन पृथक? उही तिथि हरेक वर्ष विभिन्न महिना र गतेमा पर्नका कारणहरू
ग्रेगोरियन क्यालेन्डर सौर–वर्ष (वैशाख, आदि जेठ ३६५/२४ दिन) मा आधारित छ। हिन्दू पात्रो चन्द्र–मास २९/५३ दिन × १२ बराबर ३५४ दिन, जसले चन्द्र-वर्ष सौर–वर्षभन्दा करिब ११ दिन छोटो बनाउँछ। (यही अन्तर मिलाउन अधिक मास र मलमास (इन्टरक्यालरी मन्थ) प्रणाली छ, यसमा झन्डै २–३ वर्षमा १ महिना थपिन्छ। (कहिलेकाहीँ क्षय–तिथि र क्षय–मासजस्ता दुर्लभ घटना हुन्छन्। खगोलीय संयोगका कारण तिथि र मासको आवृत्ति असामान्य रूपमा खुम्चिन सक्छ। यसरी तिथिको क्रम स्थिर भए पनि ग्रेगोरियन मिति र हप्ताको दिन ‘फ्लोट’ हुन्छ। यही कारण दशैँ र तिहार कहिले अक्टोबरको शुरूतिर तथा कहिले मध्य र अन्त्यतिर पर्न सक्छ।
४. किन पर्वको आत्मा तिथिमा बस्छ?
हिन्दू दृष्टिमा ‘काल’ केवल क्रोनोलोजी (समय-घटनाक्रम) मात्र होइन, पवित्रता पनि हो। हरेक तिथिले पृथक् स्पन्दन (भाइब्रेसन) बोकेको मानिन्छ, जसलाई अनुकूल गरी व्रत–पूजा राखिन्छ।
४.१ आध्यात्मिक–अनुष्ठानिक अर्थ:
एकादशी (११औँ) लाई विष्णु–भक्ति, उपवास, इन्द्रिय–संयमको दिन मानिन्छ। त्यस्तै, पूर्णिमालाई प्रकाश, ज्ञान, गुरु–पूजन, ध्यान (गुरु पूर्णिमा, होली, बुद्ध पूर्णिमा) को अवसरका रूपमा लिइन्छ। अमावस्यालाई पितृ–तर्पण, शान्ति–साधना (महालय, श्राद्ध) का रूपमा लिइन्छ। अष्टमी, नवमी र दशमीलाई देवी–महिमा, धर्म–विजय र शौर्य (जन्माष्टमी, नवमी पूजा, विजया दशमी) का रूपमा लिइन्छ।
४.२ प्रकृति–कृषि–ऋतु
पूर्वीय समाज कृषिप्रधान थियो। चन्द्र चक्रसँग सिँचाइ, बिउ रोपाइँ, मल र पानीको ताल, कटानी जोडिन्थ्यो। होली, तीज, तिहार र संक्रान्ति ऋतु–परिवर्तनमा जीवन–ताल मिलाउने सामूहिक विधि हुन्।
४.३ सांस्कृतिक निरन्तरता
दशैँ दशमीमा, तिहार अमावस्या-द्वितीयामा, जन्माष्टमी कृष्ण-अष्टमीमा, जनै पूर्णिमा श्रावण-पूर्णिमामा पुस्तौँदेखि यही ताल दोहोरिनु नै स्मृति–परम्परा हो। ग्रेगोरियन महिना -मिति र वार हरेक वर्ष यताउता पर्दा पनि तिथि–तालको अवधारणा स्थिर रहन्छ।
४.४ उदय–नियम
शास्त्रीय नियम सिधा तर निर्णायक छ: सूर्य उदय बेला जुन तिथि चलिरहेको छ, त्यो दिन त्यो तिथिको पर्व मनाइन्छ। (केही पर्वमा अतिरिक्त सूक्ष्मता जोडिन्छ—जस्तै: दीपावली र लक्ष्मी पूजामा अमावस्याको प्रदोष काल (साँझ) र जन्माष्टमीमा निशीथाररोहिणी आदि। तर आधारभूत निर्धारण उदया–तिथि नै हो।
५. किन नेपाल, अमेरिका र क्यानडामा त्यही तिथि फरक दिनमा?
५.१ समयक्षेत्र र पृथ्वीको घुमाइ
नेपाल (युटीसी+५:४५) र न्यूयोर्क र टोरन्टो (सामान्यतः युटीसी–५:00, डीएसटी मा –४:00) बीच १०-१२ घण्टाको फरक छ।
एउटा सरल परिदृश्य
कल्पना गर्नुहोस्, अष्टमी तिथि नेपालमा बिहीबार बेलुकी ६:३० मा शुरू भयो र अर्को दिन शुक्रबार बेलुकी ८:०० मा समाप्त भयो।
-काठमाडौंः बिहीबार सूर्योदय बेला सप्तमी चलिरहेकाले बिहीबार सप्तमी मानिन्छ।
-न्यूयोर्कः त्यही खण्ड न्यूयोर्क समयले हेर्दा अष्टमी अघिल्लो दिनको बुधबार बिहानै ४ बजे शुरू भइसकेको थियो र सूर्योदयमा पनि र बुधबार दिनभर अष्टमी नै मानिन्छ। भोलिपल्ट बिहीबार भने नवमी पर्न आउँछ।
एकै तिथि फरक दुई ग्रेगोरियन दिनमा पर्नु विरोधाभास होइन, उदय–नियम, समयक्षेत्र र स्थानीय सूर्योदयको स्वाभाविक परिणाम हो।
५.२ स्थानीय सूर्योदय र स्थानांक, अक्षांश र देशान्तर
तिथि १९–२६ घण्टाको लचकदार एकाइ भएकाले, स्थानीय सूर्योदय–समय र स्थानाङ्क अनुसार एउटै तिथि दुई थलोमा अलग–अलग बारको दिनमा लागू हुनसक्छ। पर्व–निर्णय ‘उदया–क्षण’का आधारमा हुने भएकाले एक दिन अगाडि र पछि सारिनु स्वाभाविक हुन्छ।
५.३ डे–लाइट सेभिङ (डीएसटी), उच्च अक्षांश र विशेष मुहूर्त
उच्च अक्षांश (क्यानडा र उत्तर अमेरिका) मा दिन–रातको लम्बाइ सिजनअनुसार निकै बदलिन्छ। यसले साँझ र प्रदोषरनिशीथाजस्ता विशेष मुहूर्तको घडी सार्छ। डीएसटीले घडीमा मानवीय समायोजन गरे पनि खगोलीय सत्य-सूर्योदय तथा अस्त र सूर्य–चन्द्र कोण बदलिँदैन। तर हामीले पढ्ने घडी र दिनको व्याख्यामा प्रभाव पर्न सक्छ। यही कारण एकै देशभित्रै पनि पूर्वी–पश्चिमी तट वा उत्तर–दक्षिण शहरबीच घण्टा र दिनको भिन्नता देखिन सक्छ।
६. पर्व–विशेष सूक्ष्म नियम: कुन पर्वमा के हेरिन्छ?
-विजया दशमी (टीका), उदया–दशमी। कतै दशमी सूर्योदयअघि नै सकिए र एकादशी लागेको भए, परम्परा र मठ–संस्कारअनुसार अपवाद हुन सक्छ, सामान्य नेपाली आचरणमा दशमी उदय प्रमुख मानिन्छ।
-दीपावली र लक्ष्मी–पूजा: अमावस्या, तर प्रदोष काल (सूर्यास्त पछिको साँझ) अत्यन्त महत्त्वपूर्ण रहन्छ। त्यसैले कहिलेकाहीँ उदया–अमावस्या नभए पनि प्रदोष–अमावस्यालाई वरणीय मानिन्छ।
-भाइ–टीका (यम द्वितीया), शुक्ल–द्वितीया उदय यदि द्वितीया सूर्योदयअघि सकियो भने अर्को दिन सारिन सक्छ।
-जनै पूर्णिमा र रक्षा बन्धन: पूर्णिमा उदयमा पर्छन्।
-जन्माष्टमीः कृष्ण–अष्टमीसँगै निशीथा र रोहिणीजस्ता सूक्ष्म तत्त्वहरू पनि हेर्ने चलन छ (वैष्णव्स्मार्त परम्परामा विधि–भिन्नता हुन सक्छ)।
-महाशिवरात्रिः कृष्ण–त्रयोदशी रातः निशीथ्प्रहरजस्ता मुहूर्तले विधि निर्देश गर्छ।
-मकर संक्रान्तिः सौर–परम्परा (सूर्य मकर राशिमा प्रवेश), वार र तिथिभन्दा सूर्य–सङ्क्रमणमै अवलम्बित विशेष अपवाद हो।
७. प्रवासमा आचरण, काम–कलेज र पूजा–उत्सव कसरी मिलाउने?
क. अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिद्वारा अनुमोदित स्थानीय पञ्चाङ्ग प्रयोग गर्नुहोस्। आफ्नो शहर र समय-क्षेत्रअनुसार सूर्योदय र अस्त गणना भएको, रेखांश र अक्षांश लागू भएको पञ्चांग प्रयोग गर्नुहोस्।
ख. उदया–तिथि र प्रमुख मुहूर्त (अपराह्न-प्रदोष र निशीथा) दुवै जाँच गर्नुहोस्।
ग. परिवार–काम–पढाइको ताल मिलाउन सामुदायिक–उत्सवलाई सप्ताहान्तमा सार्न सकिन्छ। व्रत, पूजा र जाग्राम भने ठीक तिथि र मुहूर्तमा गर्नु उचित हुन्छ।
घ. डीएसटी (मार्च/नोभेम्बर) वरिपरि पर्ने पर्वका लागि दोहोरो जाँच गर्नुहोस्। सूर्योदय–समयको परिवर्तनले मुहूर्त असर गर्न सक्छ।
ङ. एउटै देशभित्र पूर्वी र पश्चिमी तट, उत्तर र दक्षिण शहरअनुसार सूर्योदय फरक हुन्छ—त्यसो हुँदा स्थानीयकरण अपरिहार्य छ।
च. वैष्णव र स्मार्त सूत्रजस्ता परम्परागत भिन्नतालाई सम्मान गर्दै निर्णय गर्नुहोस्। (विशेषतः जन्माष्टमीमा)।
छ. अधिकमासरक्षय–तिथिजस्ता वर्ष–विशेष अवस्थालाई हल्का नलिनुहोस् र पञ्चाङ्गका टिपोट पढ्नुहोस्।
ज. मन्दिर र समुदायसँग एकरूप सूचना लिने र दिने गर्नुहोस्। यसले भ्रम घट्छ र सहभागिता बढ्छ।
झ. विद्यालय र कलेज पढ्ने बालबालिकालाई ‘किन फरक पर्छ?’ भन्नेबारे खगोलीय व्याख्या सरल भाषामा सिकाउनुहोस्, गौरव र जिज्ञासा दुवै बढ्छ।
ञ. घर–घरमा पञ्चाङ्ग–साक्षरता (क्यालेन्डर पढ्ने सीप) विकास गर्नुहोस्, तिथिको अर्थ, उदया–नियम, मुहूर्त र स्थानीय सूर्योदयको सम्बन्ध बुझ्दा अस्पष्टता हराउँछ।
सामान्य गलत–बुझाइहरू र निराकरण
नेपालको पात्रो नै अन्तिम हो, त्यही हेरेर विदेशमा पनि उही बारको दिन मनाउनुपर्छ भन्ने अड्डी लिनु हुँदैन। पर्व वा अन्य तिथि कर्म निर्णय स्थानीय उदया–तिथिमा आधारित हुन्छ। काठमाडौँको गणना न्यूयोर्क र टोरन्टोमा जस्ताको तस्तै लागू हुँदैन।
‘हप्ताका बार (आइत सोम मंगल बुध बिही शुक्र शनि) नै निर्णायक हो’ भन्ने अर्को नजानिँदो भ्रम जनमानसमा देखियो। हिन्दू पर्वको आत्मा तिथि हो। वारहरू सहायक पहिचान मात्र हुन्।
-डीएसटीले धार्मिक मिति बदलिदिन्छ भन्ने कुरा सही होइन। घडीको मानवीय समायोजन हो डीएसटी। खगोलीय सत्य, सूर्योदय, अस्त र सूर्य–चन्द्र कोण-बदलिँदैन, तर त्यसले हामीले पढ्ने घडी र दिनको व्याख्यामा प्रभाव पर्न सक्छ।
-‘बिहान पूजा चुक्यो भने पर्व गयो’ भन्ने कुरा लागु हुँदैन। धेरै पर्वमा दिवस–विस्तार (अपराह्न, प्रदोष र निशीथा) हुन्छ। मुख्य मुहूर्त नछुटाई सम्भाव्यतालाई ध्यानमा राखेर गरिने पूजा–अनुष्ठान अर्थपूर्ण र वैध हुन्छ।
-‘तिथि दिन र रात जस्तै २४ घण्टाकै हुन्छ’ भन्ने कुरा गलत हो। खगोलीय गतिका कारण तिथि १९ देखि २६ घण्टा सम्मको हुन सक्छ।
नीतिगत तथा सामुदायिक सिफारिसहरू
१. अन्तर्राष्ट्रिय पञ्चाङ्ग–मानकः प्रवासी समुदायलाई लक्षित गरेर शहर–विशेष सूर्योदय र अस्त सहितका पञ्चाङ्ग मानक बनाइनु जरुरी छ। नेपालस्थित अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिबाट सरहानिय रूपमा यसलाई व्यवस्थापन गर्ने प्रयास हुँदै आएको छ।
२. मन्दिर–संयोजन: एउटै शहरका मन्दिर र संस्थाले सामूहिक बैठक गरेर एकरूप सूचना प्रकाशित गर्नुपर्छ।
३. डिजिटल पहुँच: मोबाइल एप र वेबसाइटमा सूर्योदय–आधारित उदया–तिथि, प्रदोष र अपराह्न र निशीथा सहज इन्टरफेस विकास गर्न सके सजिलो हुने थियो।
४. शैक्षिक सामग्री: बालबालिकाका लागि ‘तिथि के हो र किन फरक पर्छ?’ शीर्षकमा चित्रात्मक सामग्री बनाउन सकिन्छ। स्कुल क्लब र सप्ताहान्त कक्षा उपयोगी हुन्छ।
५. माध्यम–सम्पादकीय भूमिका: स्थानीय मिडिया र सामुदायिक पत्रिकाले उदया–तिथि र समयक्षेत्र विषयमा नियमित स्तम्भ र इन्फोग्राफिक प्रकाशित गर्न सके अस्पष्टता घट्छ।
६. संवाद र सहिष्णुता: वैष्णव र स्मार्त सूत्रजस्ता परम्परागत भिन्नतामा पारस्परिक सम्मान र स्पष्ट व्याख्या अनिवार्य छ। ‘किन उहाँहरूको मन्दिरमा अर्को दिन?’ भन्ने जिज्ञासालाई शास्त्रीय कारणसहित खुलेर बुझाउनुपर्छ।
७. क्यालेन्डर–साक्षरता तालिम: पण्डित, समाजसेवी र शिक्षकका लागि उदया–नियम, डीएसटी, रेखांश–अक्षांश र उच्च–अक्षांशका प्रभावबारे सूचना आवश्यक छ।
८. संरक्षण र नवप्रवर्तन: परम्परालाई यथार्थसँग जोडेर जोगाउनु गर्नु नै सामाजिक धर्म हो। घरमा तिथिअनुसार ब्रत र पूजामा दृढता र समुदाय–समारोहमा सुविधा र समायोजन—दुवैको सन्तुलन नै नवप्रवर्तन हो।
९. पूर्वीय धर्म–दर्शनको गहिराइ ‘मिति’भन्दा माथि ‘क्षण’: ग्रेगोरियन महिना र मिति-बारमा हाम्रो बानी परेका छ। अफिस–स्कुल, उडान–रेल, बिल–डेडलाइन सबै त्यही सूचकको भाषा हो। तर हिन्दू पर्वले अर्को पाठ सिकाउँछ–‘क्षण’को पवित्रता। तिथि–आधारित त्यो क्षण चन्द्र–सूर्यको तालसँग मिल्छ। त्यसैले घर काठमाडौँमा होस् वा क्युबेकमा, माथि एउटै ब्रह्माण्ड छ। ‘म जहाँ छु, त्यहीँबाट ब्रह्माण्डसँग ताल मिलाउँछु’, यो चेतना प्रवासी जीवनको ठूलो शक्ति हो।
यसर्थ, पर्व–अनुष्ठानको सार ‘कुन बार र दिन’ भन्दा पनि ‘कुन खगोलीय क्षण’ हो। संस्कृतिले यही सिकाउँछ,'पृथ्वीका सीमाभन्दा माथि, समयको सूक्ष्म कम्पनसँग आफ्नो मन जोड'। तिथिको सम्मान भनेको ब्रह्माण्डीय तालसँग ताल मिलाउनु हो। यही तालमा परिवार–समाज, काम–पढाइ र उत्सव–आस्था सबै समेटिन्छन्।
निष्कर्ष
-तिथि सूर्य–चन्द्र कोण १२ डिग्रीको खगोलीय एकाइ हो ३० तिथि बराबर १ चन्द्र मास। तिथिको लम्बाइ करिब १९–२४–२६ घण्टा बीच बदलिन्छ।
-हिन्दू पर्वको आत्मा तिथिमा बस्छ, उदया–तिथि र विशेष मुहूर्त (अपराह्न, प्रदोष र निशीथा) अनुसार निर्णय हुन्छ।
-नेपाल र अमेरिका वा क्यानडामा दिन सर्नु स्वाभाविक समय क्षेत्र, स्थानीय सूर्योदय, डीएसटी, अक्षांश र उदया–नियमका कारण एउटै तिथि फरक ग्रेगोरियन दिन र बारमा पर्न सक्छ।
-प्रवासमा व्रत-उपबास र पूजा ठीक तिथि र फागु पूर्णिमाजस्ता सामुदायिक उत्सव सप्ताहन्त (शनिबार,आइतबार) गर्दा सन्तुलनले श्रद्धा र सहभागिता उस्तै बलियो राख्छ।
-अन्ततः पर्व–अनुष्ठानको सार, खगोलीय क्षणसँगको श्रद्धायुक्त भेट ‘कुन मिति’भन्दा ‘कुन तिथिमा कसरी मनले त्यो क्षणसँग जोडियो?’ मा भर पर्छ। यही चेतना–संस्कारले सांस्कृतिक आत्मविश्वासलाई दीर्घकालीन बनाउँछ र नयाँ पुस्तामा गौरव–ज्ञान उजागर गराउँछ।
(उकालोको विचार खण्डमा छापिने सामग्री व्यक्तिका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

अत्यन्त राम्रो लेख
देबी प्रसाद पाण्डे
1 month, 3 weeks ago