जलेश्वर कारागारबाट भागेका २३३ कैदीबन्दी फर्किए, ३४३ जना अझै फरार

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भदौ २४ गते साँझ करिब ७ बजे कारागारका तीन वटा ढोका फोडेर सबै कैदीबन्दीलाई भगाएका थिए।

महोत्तरी– गत भदौ २४ गते जेनजी आन्दोलनकारीले गरेको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागारबाट भागेका ५७६ कैदीबन्दीमध्ये २३३ जना फर्किएका छन्। अझै ३४३ जना भने फरार छन्।

कारागारका जेलर अशोक क्षेत्रीका अनुसार भदौ २४ गते मंगलबार राति करिब ७ बजे जेनजी आन्दोलनकारीले कारागारका तीन वटा ढोका फोडेर सबै कैदीबन्दीलाई भगाएका थिए। त्यसमध्ये ४० जना भारतीयसहित ५७६ जना भागेका थिए।

जेलर क्षेत्रीले आइतबार बिहानसम्म २३३ जना कैदीबन्दी फर्किसकेको र अरू पनि फर्किने क्रम जारी रहेको बताए। उनले जलेश्वर कारागारबाट भागेका १२ जनालाई भारततर्फ जाँदै गर्दा भारतीय प्रहरीले पक्राउ गरी फिर्ता पठाउन सहयोग गरेको पनि जानकारी दिए। बाँकी कैदीबन्दी भने आफैँ कारागारमा फर्किएका हुन्।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार फरार ३४३ कैदीबन्दीको खोजीका लागि जिल्लाका तीनवटै तहका सुरक्षाकर्मी परिचालन गरिएको छ।