तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

काठमाडौँ– चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। 

विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी रूपमा सञ्चालन आएको जानकारी दिए। सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो। 

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन–नारायणघाट सडकखण्डमा हजारौँ यात्रु अलपत्र परेका थिए। सडक सञ्चालनमा आएसँग रोकिएका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।

विभागका अनुसार अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन्। १६८ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका विभागले जनाएको छ।