नेपालगन्जमा २ हजारभन्दा बढी गोलीका खोकासहित २ जना पक्राउ

नेपालगन्जमा २ हजारभन्दा बढी गोलीका खोकासहित दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

नेपालगन्ज– बाँकेको नेपालगन्जमा २ हजारभन्दा बढी गोलीका खोकासहित दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

नेपालगन्ज उपमहानगरपालिका–३, एकलैनीमा आइतबार चोरी गर्न आएका पाँच जनाको समूहले बिजुलीको पोलमा रहेको बत्ती फुटाउन लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरेका थिए। यस क्रममा एक जना समातिए पनि अरू भाग्न सफल भएको वडा नं ३ का अध्यक्ष मोहम्मद अयुब सिद्दिकीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिलाई सोधपुछ गर्दा एक बोरा बोकेका अर्का व्यक्ति साथीको अवस्था बुझ्न आएका थिए। त्यसपछि उनलाई पनि नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको वडाध्यक्षले बताए।

ती व्यक्तिले बोकेको बोरामा २ हजार ९६ थान गोलीका खोका र केही औजार भेटिएको सिद्दिकीले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय, नेपालगन्जमा बुझाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना बर्दिया र अर्का भारतको बाबागन्जका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले स्थानीयले बुझाएका ती व्यक्तिहरू र गोलीका खोकाबारे थप अनुसन्धान भइरहेको बताए।

यसअघि पनि यहाँ चोरी गर्ने चेतावनीसहित बिजुलीको पोलमा पर्चा टाँसिएको भेटिएको थियो, जसका कारण स्थानीयले टोलमा रातभरि नियमित गस्ती गर्दै आएका थिए।