नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सोमबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

काठमाडौँ— नवनियुक्त चार मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरूलाई शपथ गराएका हुन्।

शपथ लिने मन्त्रीहरूमा अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई राष्ट्रपति पौडेलले मन्त्री नियुक्त गरेका थिए। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरिएकी डा. संगीता मिश्राको नाम भने अन्तिम चरणमा हटाइएको थियो।

यो पनि : अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो

नवनियुक्त मन्त्री सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानून तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,परियारलाई कृषि मन्त्रालय र जगदीश खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

null

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले भदौ ३० गते तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। उनले रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृह तथा कानूनमन्त्री र कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको जिम्मेवारी दिएकी थिइन्।